पन्ध्र वर्षपछि पर्दामा फर्किँदैछिन् ‘कुसुमे रुमाल’की तृप्ती

काठमाडौंः सन् १९८३ मा नेपाली फिल्म ‘सम्झना’ बाट अभिनेत्रीको रूपमा डेब्यु गरेकी तृप्ती नाडकरलाई नचिन्ने नेपाली दर्शक कमै होलान्। किनभने उनको पहिलो फिल्मले नै उनलाई दर्शकमाझ चर्चामा पुर्यायो। कुनै समय नेपाली दर्शकमाझ अभिनेता भुवन केसी र तृप्तीको जोडी निकै लोकप्रिय थियो।
डेब्यु फिल्मपछि उनले ‘कुसुमे रुमाल’, ‘साइनो’, ‘लाहुरे’, ‘कोसेली’ हुँदै करिब १५ वर्षअघि ‘कुसुमे रुमाल २’ मा अभिनय गरेपछि भारतको दार्जिलिङ बस्दै आएकी थिइन्।
आफ्नो जन्मभूमिबाट टाढा रहे पनि उनले नेपाली फिल्मलाई माया गर्न भने छोडेकी थिइनन्। उनले आफूले अभिनय गरेका फिल्मका गीतहरू गुनगुनाउँदै सामाजिक सञ्जालमा राख्दै आएकी थिइन्। अहिले भने उनी १५ वर्षपछि फिल्म ‘ककाकिकी’ मा अभिनय गर्दैछिन्। हाल उनी कास्कीको एउटा गाउँमा फिल्मको छायांकन गर्दै सामाजिक सञ्जालमा तस्बिरहरू पोष्ट गरिरहेकी छन्।
उनको अनुहारमा देखिने मुस्कान र खुशीले धेरै कुरा बताउँछ। मंगलबार उनले फेसबुकमा पुरानो गीत ‘पहाडको माथि माथि घुँदै उडेको’ राख्दै एक भिडियो पोस्ट गरेकी छन्, जसमा उनको खुशी झल्किएको छ। नेपाली फिल्मप्रतिको उनको माया उक्त भिडियोमा स्पष्ट देखिन्छ। केही दर्शकहरूले पुरानो गीतप्रतिको सम्झना व्यक्त गरेका छन् भने कसैले सो दृश्यस्थानको सुन्दरता वर्णन गरेका छन्।
लामो समयपछि उनी नेपाली फिल्ममा फर्किएकी हुन्, जसले दर्शकलाई पनि खुशी तुल्याएको छ। उनले यसै फिल्मकी अभिनेत्री रेखा थापासँग पनि तस्बिर खिचाएकी छन्, जसमा उनको हँसिलो अनुहार देख्न सकिन्छ।
‘कमेडी दरबार’ ले निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’ को छायांकन पर्वतको भूकदेउरालीबाट सुरु भएको छ। निर्माण पक्षका अनुसार तीन सातासम्म पर्वतकै गाउँको परिवेशमा दृश्यहरू खिचिने छन्।
यो फिल्म बिक्की अग्रवालले निर्देशन गरिरहेका छन्। फिल्ममा अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दीया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतले अभिनय गरिरहेका छन्। ‘कमेडी दरबार’ टिमले निर्माण गरिरहेको यो फिल्मलाई निर्देशकद्वय बिक्की र श्रद्धाले संयुक्त रूपमा निर्देशन गरिरहेका छन्।
यो फिल्मपछि तृप्तीले नेपाली फिल्ममा निरन्तरता दिन्छिन् कि दिँदैनन् भन्ने कुरा भने समयले बताउनेछ।
असोज २८, २०८२ मंगलबार २०:३५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।