विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक : मन्त्री घिसिङ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अध्ययन गरेर मात्र बस्ती विकास गर्नुपर्ने बताएका छन्।
विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस–२०२५ का अवसरमा सोमबारदेखि सुरु भएको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनको समापन समारोहलाई आज सम्बोधन गर्दै मन्त्री घिसिङले जलवायु परिवर्तनका कारण नेपाल हरेक वर्ष विभिन्न प्राकृतिक विपद्को सामना गर्न बाध्य भएको बताए। उनका अनुसार प्रभावकारी विपद् व्यवस्थापनका लागि बलियो सूचना प्रणाली र योजनाबद्ध बस्ती विकास अपरिहार्य छन्।
“नदी प्रणाली र जल व्यवस्थापन प्रभावकारी नहुँदा विपद् नियन्त्रणमा समस्या देखिएको छ,” उनले भने, “खोला किनाराका अव्यवस्थित बस्ती र कमजोर खाद्य सुरक्षा प्रणालीले विपद् व्यवस्थापनलाई झनै जटिल बनाइरहेको छ। अब कुन क्षेत्रमा बस्ती बसाउन उपयुक्त हुन्छ भन्ने अध्ययन गरेर मात्र व्यवस्थापन गर्न जरुरी छ।”
मन्त्री घिसिङले विपद् व्यवस्थापनलाई सामाजिक पक्षसँग पनि जोडेर हेर्नुपर्ने बताउँदै करिब ३० वटा नदी क्षेत्रको समुचित जल व्यवस्थापन गर्न सके सिँचाइ, खानेपानी र बाढी नियन्त्रणमा ठूलो सुधार ल्याउन सकिने धारणा राखे।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर दिनेश भट्टले विपद् जोखिम न्यूनीकरणका लागि भौतिक पूर्वाधारको बीमा व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय सरकार र नागरिक समुदायलाई सशक्त बनाउँदै सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे।
त्यस्तै, विपद् पूर्वतयारी सञ्जाल नेपाल (डीपी नेट)का अध्यक्ष डा. राजु थापाले उत्थानशील क्षेत्रमा लगानी बढाउँदै रैथाने ज्ञान र स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्न सके विपद् न्यूनीकरणमा ठोस परिणाम आउन सक्ने बताए।
असोज २८, २०८२ मंगलबार २०:०२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।