महानगरले घोषणा गर्‍यो सबै वडामा नि:शुल्क स्वास्थ्य सेवा, १० वटा वडामा बीमा

महानगरले घोषणा गर्‍यो सबै वडामा नि:शुल्क स्वास्थ्य सेवा, १० वटा वडामा बीमा

काठमाडौं : काठमाडौं महानगरपालिकाले सबै ३२ वटै वडामा नि:शुल्क स्वास्थ्य सेवा घोषणा गरेको छ। मंगलबार शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत सबै वडामा निःशुल्क स्वास्थ्य सेवाको घोषणा गरेको हो।

३२ मध्ये १० वटा केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम लागू भइसकेको महानगरले जानकारी दिएको छ। पहिलो आर्थिक वर्ष २०७९/८० मा सबै वडामा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यका साथ पूर्वाधार विकासमा जोड दिएको र २०८०/८१ मा १ लाख २४ हजार ४४ जना नागरिकले सेवा लिएको महानगरले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

२०८१/८२ मा यो संख्या बढेर १ लाख ९४ हजार १९३ पुगेको र चालु आर्थिक वर्षको साउन र भदौमा मात्र ४१ हजार ९ सय ७१ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिइसकेको महानगरले जानकारी दिएको छ।

महानगरका अनुसार स्वास्थ्य केन्द्रहरूमा एमबिबिएस चिकित्सकमार्फत हरेक दिन नियमित उपचार सेवा दिइँदै आएको, निश्चित तालिकाअनुसार विशेषज्ञ चिकित्सक सेवा सञ्चालन हुँदै आएको र शहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट सम्भव नभएका उपचारका लागि सेवाग्राहीलाई सिभिल, वीर र टिचिङ अस्पतालमा रेफर गरिने गरिएको छ।

‘स्वास्थ्य केन्द्रहरूमा २५० भन्दा बढी किसिमका निःशुल्क औषधि, प्रयोगशाला र रेडियोलोजी सेवा, फिजियोथेरापी र मातृत्व सेवा उपलब्ध छन्,’ महानगरले भनेको छ ‘एकीकृत एम्बुलेन्स सेवा पनि तुरुन्तै उपलब्ध छ। उपचार नपाएर अब कसैले ज्यान गुमाउनुपर्ने छैन।’

असोज २८, २०८२ मंगलबार १९:३६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।