संयमित देखिए देउवा, जेन-जी पुस्ताको माग र चुनावप्रति सकारात्मक

काठमाडौं : प्रमुख दलमध्ये एमालेका नेताहरू जेन-जी पुस्ताको आन्दोलनपछि बदलिएको राजनीतिक घटनाक्रमप्रति नकारात्मक र उत्तेजित देखिइरहेको बेला अर्को प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने संयमित देखिए।
एमाले अध्यक्ष केपी शर्मा ओली एक रटले आन्दोलनलाई षड्यन्त्र मात्र भनिरहेका छन्। एमालेका अन्य नेताहरू समेत जेन-जी आन्दोलनप्रति सकारात्मक देखिएका छैनन्।
जेन-जी आन्दोलनमा आफ्नै घरमा प्रदर्शनकारीबाट कुटिएको एक महिनापछि पार्टीको केन्द्रीय समितिको बैठकमा देखिएका देउवाले पार्टी भित्रको माग अनुसार नेतृत्व हस्तान्तरणदेखि जेन-जी आन्दोलनको मागसम्मको सम्बोधन गरे।
केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार उनले १५ औँ महाधिवेशनपछि आफूले पार्टी नेतृत्व नगर्ने भन्दै मंगलबारबाटै पार्टीको नेतृत्व उपसभापति पूर्णबहादुर खड्कालाई दिए। स्वास्थ्यको कारण देखाउँदै उनले खड्कालाई कार्यवाहक मात्र तोकेनन्, घरमा सधैँ एक मुली नरहने भन्दै १५ औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने बताइसकेको खुलाए।
जेन-जीको मागप्रति सकारात्मक
आन्दोलनकोक्रममा प्रदर्शनकारीबाट घरमै कुटिए पनि देउवा मंगलबार निकै संयमित देखिए। उनले भदौ आन्दोलनका शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरे। जेन-जी आन्दोलनमा घुसपैठहुँदा अर्कै रूप लिएको र त्यसमा नवयुवाहरूको ज्यान गएको भन्दै उनले दुख व्यक्त गरे।
भदौ २४ को घटनालाई षड्यन्त्रको रूपमा उल्लेख गर्दै यसबारे सत्यतथ्य पत्ता लगाउन छानबिनको माग गर्दै घटनापछि राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको प्रशंसा गरे।
उनी जेन-जी पुस्ताको आन्दोलनको मागप्रति पनि सकारात्मक देखिए। देशमा सुशासन र भ्रष्टाचार मुक्त वातावरण सुनिश्चित हुनुपर्ने र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भनेर जेन-जी पुस्ताले राखेको माग जायज भएको भन्दै उनले त्यसको सम्बोधन हुनुपर्ने र मुलुकप्रति देखाएको चासो र चिन्ताको सम्बोधन गर्न पार्टी बैठकमा छलफल गर्नुपर्ने बताए।
नेतृत्व हस्तान्तरणको घोषणा
"घरमा सधैँ एकै मूली रहँदैन। पार्टीमा पनि सधैँ एकै सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५ औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छ," उनले भने "आगामी १५ औँ महाधिवेशनबाट म बाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ। त्यसमा द्विधा छैन।"
अन्तरिम सरकारले तोकेको निर्वाचनबारे समेत उनले निकै संयमित धारणा राखे। निर्वाचनको पूर्व सर्तको रूपमा शान्ति सुरक्षालाई राख्दै उनले सरकारले शान्ति सुरक्षा कायम गरेमा देशलाई पुन संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन मात्र भएको बताए।
उनले अहिलेको अवस्थामा पार्टी एक हुनुपर्ने भन्दै उनले व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व र असहमतिलाई थाती राखेर देशलाई एकताबद्ध गर्नुपर्ने र पार्टीमा रहेको व्यक्तिगत वा समूहगत रुची-अरुचि, हित-अहित वा लाभहानीका विषय गौण रहेकाले अहिलेका विषयवस्तुमा व्यापक छलफल गरेर एकमतका साथ निर्णयमा पुग्न आग्रह गरे।
संसद् विघटनको विरोध, सरकारको आलोचना
जेन-जी आन्दोलनपछि अन्तरिम सरकार गठन गरेसँगै प्रतिनिधि सभा विघटन गरेकोमा उनले असहमति जनाउँदै संविधान सभाबाट बनेको नेपालको संविधान जोखिममा परेको बताए। उनले निर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको बताए।
सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोके पनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको, निर्वाचनको पूर्व सर्तको रूपमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको भन्दै निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चित गराउने जिम्मा सरकारको भएको बताए।
सरकारले निर्वाचनको वातावरण बनाउन सकेमा देशलाई संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्दै उनले सरकारे बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको भन्दै आलोचना पनि गरे।
‘यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरूसँग संवाद गरेर आगामी योजनाबारे छलफल गर्न आवश्यक छ,’ मुलुकमा सङ्कट आएका बेला त्यसको निकास कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसात् गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अगाडि बढौँ।’
विशेष हैन नियमित महाधिवेशन
नेपाली कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको माग तीव्र बन्दै गएको छ। एक समूहले विशेष महाधिवेशन माग्दै हस्ताक्षर संकलन समेत गरिरहेका छन्। अर्को पक्ष भने नियमित महाधिवेशनको पक्षमा उभिएका छन्। देउवा पनि नियमित महाधिवेशनको पक्षमा देखिए।
उनले भदौ २४ को घटना दलका नेतामाथिको व्यक्तिगत आक्रमण जस्तो देखिए पनि देश, पद्धति र पार्टी माथिको आक्रमण भएको समेत बताए। पार्टीको विधान अनुसार तोकिएको समयमा १५ औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गर्न आवश्यक रहेको बताउँदै स्वास्थ्यको कारण देखाउँदै पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोके।
असोज २८, २०८२ मंगलबार १८:५५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।