‘ओ हो! कस्तो जोखिमपूर्ण यात्रा’

‘ओ हो! कस्तो जोखिमपूर्ण यात्रा’

काठमाडौं : असोज दोस्रो साताको भीषण बाढी र पहिरोले क्षतिग्रस्त बनाएर अवरुद्ध भएको बीपी राजमार्ग असोज २५ गते शनिबारबाट सञ्चालनमा आयो। पूर्वी नेपाल र काठमाडौं उपत्यका जोड्ने छोटो दूरीको यो मुख्य राजमार्ग देशकै अत्यन्त व्यस्त सडक मध्ये एक हो।

यस वर्ष दशैंकै बीचमा बाढी-पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरू मारमा परे। दशैं सकिएलगत्तै सडक खुल्न त खुल्यो, तर क्षतिग्रस्त भागहरू अस्थायी रूपमा मर्मत गरी सञ्चालनमा ल्याइएकाले यात्रा भने अझै पनि सकसपूर्ण र जोखिमपूर्ण छ।

बीपी राजमार्ग अन्तर्गत काभ्रे खण्डमा १६ स्थान र सिन्धुली खण्डमा तीन स्थान गरी कुल १९ ठाउँमा सडक पूर्णरूपमा क्षतिग्रस्त भएपछि डाइभर्सन खोलेर सवारीसाधन सञ्चालनमा ल्याइएको हो।

भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशका अनुसार काभ्रेको भकुण्डेबेंसीदेखि बर्खेखोलासम्म करिब चार किलोमिटर लम्बाइमा १६ ठाउँमा सडक बाढी-पहिरोले बगाएको छ। ‘रोशी खोलाले सडकका विभिन्न खण्डमा क्षति पुर्याएको छ,’ योगेशले बताए। उनका अनुसार असोज २४ गते शुक्रबार बेलुका करिब ६ बजेदेखि अस्थायी ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याइएको हो। नियमित मर्मत कार्य निरन्तर भइरहेको उनले जानकारी दिए।

सिन्धुलीतर्फ पनि नेपालथोकमा एक र बालुवा सडकखण्डमा दुई ठाउँ गरी तीन ठाउँमा करिब एक किलोमिटर सडक रोशी खोलाले क्षति पुर्याएको छ। त्यहाँ पनि अस्थायी डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याइएको सिन्धुलीको खाल्टे सडक डिभिजनका सूचना अधिकारी सुदर्शन उप्रेतीले जानकारी दिए।

राजमार्ग अवरुद्ध भएपछि केही दिनसम्म यो रुट हुँदै चल्ने सवारीसाधनहरूले वैकल्पिक बाटो प्रयोग गर्नुपरेको थियो। अहिले सडक सञ्चालनमा आएसँगै यात्रुहरूलाई राहत त मिलेको छ, तर सडकको अवस्था भने सहज छैन।

असोज २६ गते आइतबार दिउँसो उदयपुरको बेलटारबाट हायस गाडीमा काठमाडौं आउने क्रममा क्षतिग्रस्त सडकखण्डमा सकसपूर्ण यात्रा अनुभव भयो। 

हिलो, ढुंगा र आलो माटोबीचको जोखिमपूर्ण यात्रा

क्षति भएको सडकमा कतै पहिरो हटाएर ट्र्याक खोलेको छ, कतै सडकको भित्तो काटिएको छ भने कतै ढुंगा-माटो थुपारेर अस्थायी बाटो बनाइएको छ। कतिपय ठाउँमा ह्युम पाइपमार्फत पानी पार गरेर सवारीसाधन लरखराउँदै गुडिरहेको देखियो। अहिले सडकमा पर्खाल वा स्थायी संरचना निर्माण भएको छैन।

पहिरोको भीरमुनि, खोलाको छेउमा, माटो उठाएर बनाइएका अस्थायी ट्र्याकहरूमा गुड्नु निकै जोखिमपूर्ण छ। कतै धुलोले गाडीभित्रै ‘उकुस मुकुस’ हुने अवस्था छ भने कतै हिलोले गाडी चिप्लिने डर। भर्खरै ट्र्याक खोलेको ‘आलो माटो’ भासिएला भन्ने त्रास उत्तिकै।

ढाँड र ढुंगामा गाडीको चक्का ठोक्किँदा उफार्ने समस्या। कतै माटो उठाएर, कतै पुरेर बनाइएको सडकमा गाडी चलाउँदा कहिलेकाहीँ “खोलामा खस्ने हो कि” भन्ने डर लाग्ने अवस्था रहेको छ।

केही ठाउँमा बगाएको सडक खोलाको बगरमै देखिन्छ। सडकको भित्तैसम्म खोलो ठोक्किँदा साबिकको सडकको नामनिशानै मेटिएको छ। कतै खोलोले पहरा र सडकै बगाएपछि खोलोको धार नै अर्कातर्फ फर्काएर बगरमा ट्र्याक खोलिएको छ।

यात्राको क्रममा कतै थुनिएको खोलाको पानी जमेको देखिन्छ भने कतै खोलो खुला बगिरहेको। त्यही दुईबीचमा अस्थायी सडक बनेको छ जसबाट गाडी गुडिरहेका छन्- साच्चै नै जोखिमपूर्ण छ यो सडकको यात्रा। 

कतै पहाडको भित्तामाथिबाट पहिरो खस्ने डर, कतै ढुंगा खसेर लाग्ने डर। कतै डोजरले बाटो बनाइरहेको, कतै ट्रकले माटो बोक्दै सडक बनाइरहेको दृश्य सर्वत्र देखिन्छ। कुनै ठाउँमा त सवारीसाधन रोकिएर बाटो बनाइएपछि मात्रै अर्को गाडी पास हुने अवस्था छ।

अत्यन्तै कच्ची सडकमा गाडी उफारिने समस्या उस्तै छ। त्यही जोखिमपूर्ण ठाउँहरूमा सवारीसाधनको लामो जाम पनि देखिन्छ।

हाल सञ्चालनमा आएका सबै क्षतिग्रस्त सडकहरू अस्थायी रूपमा मात्रै तयार पारिएका हुन्। यस्तो अस्थायी संरचना भएकोले पानी परेमा बाढी-पहिरोले जुनसुकै बेला फेरि सडक बगाउने वा अवरुद्ध पार्ने जोखिम उच्च छ। धेरै ठाउँमा खोलाको बगरमै ट्र्याक खोलिएकोले टिकाउ छैन।

हिउँदमा पानी नपरुञ्जेल सडक सञ्चालनमा रहने भए पनि वर्षा लागेपछि पुनः अवरोध हुने निश्चित देखिन्छ। हिउँदमा पनि सुक्खा पहिरो खस्ने जोखिम भने उत्तिकै रहनेछ। यो सडकमा यात्रा गर्ने जो कोहिले तब मात्र राहतको सास फेर्छ जब यात्रा सकिन्छ। किनभने गाडीमा बस्दा मनमा दुर्घटनाको डर मडारिरहन्छ।  

गत वर्ष पनि दशैंअघि बाढी-पहिरोले यही सडकखण्ड अवरुद्ध बनाएको थियो। त्यसबेला पनि अस्थायी ट्र्याक बनाएर सडक सञ्चालनमा ल्याइयो। अहिले पनि त्यही दृश्य दोहोरियो।

दीर्घकालीन रूपमा टिक्ने संरचना निर्माण नगर्ने हो भने बीपी राजमार्गको सो खण्डमा यात्रुले सधैं यस्तै नियति भोगिरहनुपर्नेछ।

असोज २८, २०८२ मंगलबार १९:२३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।