लगालग तीन फिल्म प्रदर्शनपछि प्रकाश भन्छन्- ‘म एकदमै आश्चर्यचकित छु, यो सब कसरी भयो’

काठमाडौं : गायकबाट अभिनेता बनेका प्रकाश सपुत यस वर्ष लगातार फिल्म रिलिजका कारण अचम्ममा परेका छन्। ‘परदेशी २’बाट अभिनयमा डेब्यु गरेका सपुतको यस वर्षको दसैंमा मात्र दुईवटा फिल्म प्रदर्शनमा आए। ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’।
दुवै फिल्म असोज १३ गते (फुलपातीका दिन) रिलिज भएका थिए। तर, दुवै फिल्मले अपेक्षित व्यापार गर्न सकेका छैनन्। १३ दिनसम्मको प्रदर्शनमा ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ३२ लाख र ‘माइतीघर’ले ३ करोड ४४ लाख रुपैयाँ ग्रस कमाई गरेको छ। कलाकारहरूको जम्बो टिम र प्रचारप्रसारको हिसाबले हेर्दा दुवै फिल्मले लगानी उठाउन नसकेको देखिन्छ।
दसैंमा दुई फिल्म रिलिज हुँदा अपेक्षित व्यापार नहुँदा अब तिहारमा पनि प्रकाश अभिनित अर्को फिल्म ‘सोल्टिनी’ रिलिज हुन लागेको छ। लगातार फिल्म रिलिज भइरहेका बेला सोमबार ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित भएका सपुतलाई पत्रकारले सोधे, ‘तपाईंका दुईवटा फिल्म अहिले प्रदर्शनमा छन्, तर लगानी उठाउन सकेका छैनन्। अब तिहारमा पनि अर्को फिल्म तीनवटासँग जुध्दै छ। यस्तो किन भइरहेको हो?’
जवाफमा प्रकाश हाँस्दै भने, ‘म पनि एकदमै आश्चर्यचकित छु, किन यस्तो भइरहेको छ? मेरो जीवनमा वा चलचित्र क्षेत्रमा, यति सँगसँगै फिल्म आउनुपर्ने त होइन। कामको हिसाबले फरक–फरक सेड्युलमा काम गरेको थिएँ। तीन महिनापछि रिलिज होला जस्तो लागेको थियो, तर सबैकुरा एकैपटक पर्यो।’
उनका अनुसार उनले फिल्मको सुटिङ फरक समयमा गरेका थिए, तर सबै फिल्म एकपछि अर्को गरी एकैपटक रिलिज हुँदा आफू अचम्ममा परेको बताए।
प्रकाशको डेब्यु फिल्म ‘परदेशी २’ पछि ‘पूर्णबहादुरको साराङ्गी’ ले भने ठुलो व्यापार गरेको थियो। सो फिल्मले हलबाट मात्रै ४८ करोड रुपैयाँभन्दा बढी ग्रस कमाई गरेको थियो। तर, सो फिल्मको सफलताबाट उनको नाम चर्चामा आउन सकेन, फाइदा भने अभिनेता विजय बरालले पाए।
त्यसपछि उनले लेखेको र निर्देशन गरेको फिल्म ‘वसन्त’ फ्लप भयो। यद्यपि, उनीमाथि निर्माताहरूले अझै पनि भरोसा राख्दै अभिनयका अवसर दिइरहेका छन्। त्यसकै क्रममा उनका फिल्महरू ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र अब रिलिज हुन लागेको ‘सोल्टिनी’ चर्चामा छन्।
उनको अर्को फिल्म ‘परालको आगो’ पनि हाल छायांकनको क्रममा छ। फिल्म दसैंअघि सुटिङमा गएको भए पनि अझै पूरा भएको छैन।
अहिले फिल्म जुधेको देख्दा त अचम्मित भएका प्रकाश सपुत,फ्लप फिल्मको हिरो भनेर ट्याग भिर्दा के गर्ने हुन्,त्यो भने हेर्न बाँकी छ। लगातार फिल्म रिलिज हुँदैमा अचम्मित बन्नु र फ्लप फिल्मको हिरो भन्दाको अवस्थामा फरक पर्छ है।
असोज २८, २०८२ मंगलबार १७:३४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।