अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

काठमाडौं : नेपालले आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सो अवधिमा मुलुकको कुल अर्थतन्त्रको आकार रु ६१ खर्ब ७ अर्ब २२ करोड पुगेको छ।

गत आवमा सरकारको कुल बजेट रु १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएकोमा ८१.३३ प्रतिशत, अर्थात् रु १५ खर्ब १२ अर्ब ९८ करोड खर्च भएको उल्लेख छ।

चालु खर्चतर्फ रु ११ खर्ब ४० अर्ब ६७ करोड मध्ये रु ९ खर्ब ५६ अर्ब ३६ करोड (८३.८४%) खर्च भएको छ। पुँजीगततर्फ रु ३ खर्ब ५२ अर्ब ३५ करोड मध्ये रु २ खर्ब २३ अर्ब ९४ करोड (६३.५६%) मात्र खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ रु ३ खर्ब ६७ अर्ब २८ करोड मध्ये रु ३ खर्ब ३२ अर्ब ६७ करोड (९०.५८%) खर्च भएको छ।

राजस्वतर्फ सरकारले कुल रु ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख संकलन गरेको छ। जसमध्ये कर राजस्व रु १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व रु १ खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति रु १७ अर्ब ३६ करोड ९६ लाख रहेको छ। यो लक्ष्यित रु १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख को तुलनामा ८४.२८ प्रतिशत हो।

वैदेशिक सहायतामा सरकारले गत आवमा रु १ खर्ब ४८ अर्ब ९३ करोड प्राप्त गरेको छ, जसमा अनुदान २३ अर्ब ५३ करोड (१५.८%) र ऋण १ खर्ब २५ अर्ब ४० करोड (८४.२%) समावेश छन्।

घाटा बजेट परिपूर्तिका लागि सरकारले रु ३ खर्ब २९ अर्ब ९९ करोड आन्तरिक र रु १ खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल रु ४ खर्ब ५५ अर्ब ३९ करोड बराबरको सार्वजनिक ऋण परिचालन गरेको छ।

अर्थ मन्त्रालयले प्रतिवेदनमा आर्थिक स्थिरता कायम राख्दै आगामी वर्षमा पुँजीगत खर्चमा सुधार र राजस्व वृद्धितर्फ ध्यान केन्द्रित गर्ने उल्लेख गरेको छ।

असोज २८, २०८२ मंगलबार १७:१३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।