राजनीतिक यात्रामा कठिन क्षणहरूको सामना गर्ने साहस राख्नुपर्छ : शेरबहादुर देउवा

राजनीतिक यात्रामा कठिन क्षणहरूको सामना गर्ने साहस राख्नुपर्छ : शेरबहादुर देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफूमाथि भएको आक्रमणलाई केवल व्यक्तिगत नभई देश, पद्धति र पार्टीमाथिको आक्रमण भएको बताएका छन्।

सानेपामा सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै देउवाले भदौ २४ गतेको घटनाको स्मरण गर्दै भने, ‘सिंगो मुलुक जलेको बेला म र मेरो परिवारमाथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो। घरमा तोडफोड, लुटपाट र आगजनी भयो। सुरक्षाकर्मीको अथक प्रयासपछि मात्रै हामीलाई उद्धार गरिएको थियो।’

देउवाले आफू र आफ्नो परिवारले त्रासदीपूर्ण आक्रमण भोगेको भन्दै पार्टीका नेताहरुलाई जानकारी दिँदै भने, ‘त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनियोजित रूपमा झुटा प्रचार पनि गरियो। तर तपाईहरूको माया, प्रार्थना र शुभकामनाले उपचारपछि आज यो बैठकमा फर्किन पाएको छु।’

उनले राजनीतिक यात्रामा कठिन क्षणहरू आउने तर त्यसका सामना गर्न साहस राख्न आवश्यक रहेको बताए। 

देउवाले घटनास्थलका सुरक्षाकर्मी र उद्धारमा सहयोग गर्ने शुभचिन्तकप्रति आभार प्रकट गर्दै धन्यवाद दिए।

देउवाले वर्तमान राजनीतिक संकटको मुल्यांकन गरी आवश्यक परे अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्नुपर्ने धारणा पनि राखे।

असोज २८, २०८२ मंगलबार १५:२४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।