स्वास्थ्यको कारण देखाउँदै देउवाले खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

स्वास्थ्यको कारण देखाउँदै देउवाले खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरेलगत्तै पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको हो।

जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परेर घाइते भएका देउवा स्वास्थ्यलाभपछि आज पहिलोपटक सार्वजनिक रूपमा पार्टी बैठकमा सहभागी भएका थिए। 

देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। देउवा उपचारका लागि विदेश जाने तयारी गरेका छन्।

बैठकमा सम्बोधन गर्दै देउवाले सरकारले आगामी २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरे पनि त्यसका लागि आवश्यक वातावरण अझै नबनेको बताए।

‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन,’ देउवाले भने, ‘निर्वाचनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न अनुकूल वातावरण बनाइनुपर्छ, यसतर्फ सरकारको ध्यान जानु जरुरी छ।’

उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरे।
‘भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु,’ देउवाले भने, ‘शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्यलाभको कामना गर्दछु।’

असोज २८, २०८२ मंगलबार १४:५०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।