कृष्णबहादुरबारे तेस्रो अनुसन्धान पनि फितलो : सुन तस्करीको मुख्य प्रमाणमा कल डिटेलको शंका र अनुमान हाबी

काठमाडौं : गम्भीर अपराधको अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्युरोले भेपमा लुकाएर भएको सुन तस्करीमा माओवादी नेता कृष्णबहादुर महराको संलग्नताबारे तीन पटक अनुसन्धान गरिसक्यो। तेस्रो चरणको अनुसन्धान अभियोगपत्रको रूपमा अदालतसम्म पुग्दा पनि तस्करीमा संलग्न रहेको पुष्टि हुने तहको प्रमाण भने निकै फितलो देखिन्छ।
सुन तस्करीमा जोडिएको व्यक्तिसँगको फोन कल अनुसन्धानका सुरु गर्न योग्य प्रमाण हो। तर फोन कल मात्र गम्भीर अपराधमा संलग्नताको बलियो प्रमाण बन्न सक्दैन। फोन कलको प्रयोजन तस्करीसँग प्रत्यक्ष जोडिने प्रमाण आवश्यक पर्छ।
भेपभित्र लुकाएर नेपाल भित्र्याएको ९ किलो सुन तस्करी अनि कृष्णबहादुर महराको संलग्नताबारे सिआइबीको तीन अनुसन्धान विवरण भने तथ्य भन्दा शंका नै शंकाले भरिएको देखिन्छ।
पहिलो अनुसन्धानमा सुन तस्करीमा जोडिएका चिनिया नागरिकसँगको सम्पर्क खुल्दा त्यसैको आधारमा उनी औपचारिक अनुसन्धानको दायरामा तानिन्थे। तर प्रहरीले उनीसँग घटनाबारे सोधपुछसम्म पनि गरेन।
दोस्रो अनुसन्धानमा छोरा राहुल महरा पक्राउ परे। उनको बयान पनि लिइयो , तर कृष्णबहादुर महराको कागज मात्र गराइयो। पहिलो पूरक अभियोग पत्र जाँदा राहुलसहित तीन जना प्रतिवादी बने। कृष्णबहादुर प्रतिवादी बनेनन्। उनी किन प्रतिवादी बनेनन्, उनको बयान नलिई किन कागज मात्र गराइयो भन्ने दोस्रो अभियोग पत्रले पनि खुलाएन।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले कृष्णबहादुर लगायतकाको सुन तस्करीमा संलग्नताबारे थप अनुसन्धान गर्न सिफारिस गरे अनुसार उनी तेस्रो अनुसन्धानका लागि पक्राउ परे। अनुसन्धानका लागि एक वर्ष बढी समय लगाइयो। तर सोमबार अभियोग पत्र जाँदा उनी सुन तस्करीमा संलग्न भएको खुलाउने प्रस्ट प्रमाण समेटिएन। तेस्रो अभियोग पत्रमा पनि मुख्य आधार त्यही कल डिटेल अनि त्यसको प्रयोजनको अनुमान मात्र उल्लेख छ।
सोमबार दर्ता भएको अभियोग पत्रमा राखिएका प्रमाणले सुन तस्करीको मुख्य योजनाकार देखिएका चिनिया नागरिकसँग उनको सम्बन्ध रहेको त खुलाउँछ। तर त्यो सम्बन्ध सुन तस्करीको सहकार्यका लागि हो भन्ने खुलाउँदैन।
संगठित कसुरको अभियोग लगाइएकाले सुन तस्करीको योजना निर्माण, तस्करीका लागि स्रोत व्यवस्थापन, समूह निर्माण र परिचालन, सुन नेपाल ल्याउने र भन्सार कटाएर व्यवस्थापन गर्ने रणनीतिमा महराको भूमिका अनि तस्करीबाट हुने आर्थिक लाभको बाँडफाँड जस्ता चरणमा उनी संलग्न थिए वा थिएनन्, प्रमाण देखिन्न अभियोग पत्रमा।
त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले भेप जफत गरेपछि छाड्न मिल्ने/नमिल्नेबारे भन्सार अधिकृतसँग फोनमा कुरा गरेर मिले छाड्न भनेकोसम्म खुल्छ। फोन गरेको समयमा भेपमा सुन रहेको खुलेको थिएन। महरा भेपमा सुन रहेको जानकार भएर छुटाउन कल गरेका थिए वा उनलाई पनि जानकारी नभई कल गरेका थिए अभियोग पत्रमा उल्लेख छैन।
भेपबाट सुन तस्करी गर्ने समूह संगठित र पटके रहेको खुलिसकेको छ। भेपमा जोडिएका केही व्यक्ति मोटरसाइकलको ब्रेकशुमा लुकाएर भएको सुन तस्करीमा पनि जोडिए। त्यसमा कृष्णबहादुर महराको संलग्नता खुलेको छैन। अन्य सुन तस्करीको घटनामा पनि महरा पोलिएका पनि छैनन्। यसले तेस्रो अनुसन्धान पनि निकै फितलो देखियो।
अभियोग पत्रमा समेटिएको प्रहरी प्रतिवेदनमै चिनिया नागरिक दावाजिन बाङसँग विभिन्न मितिमा पटक पटक फोन सम्पर्क भएको, पटक पटक उठ बस हुने गरेको, फोन सम्पर्क र छोराहरूको बयान ब्यहोरासमेतबाट खुल्न आएको, प्रमुख भन्सार अधिकृतलाई फोन सम्पर्क गरी अवैध रूपमा भन्सार चोरी पैठारी गरी भित्र्याएको इलेक्ट्रिक सिगरेटभित्र रहेको सुन जाँच पास गरिदिन पटक पटक सम्पर्क गरी निजको छोरा राहुल भन्ने रेशम महरालाई सुन रहेको इलेक्ट्रिक सिगरेट छुटाउन पठाएकोलाई मुख्य प्रमाण मानेको देखिन्छ।
प्रमाण भन्दा शंका हाबी
२०७९ माघ २९ मा फ्लाइ दुबइबाट नेपाल भित्रिएको २ वटा सुटकेसमा रहेको ७३ बट्टाको ७ सय ३० थान भेप भन्सार कार्यालयले जफत गर्छ। जफत गरेर भन्सारको स्टोरमा राखेको भेप जब साटिएको खुल्छ तब वैशाख १६ मा भन्सारले छानबिन गर्न सिआइबीलाई पत्र पठाउँछ। तीन महिनाको अनुसन्धानमा सो भेप भित्र तस्करीको सुन रहेको र भन्सारका कर्मचारी मिलेर बेचेपछि अर्को भेप ल्याएर राखेको नयाँ तथ्य खुल्छ।
अनुसन्धानमा सुन ल्याउने, सुन चोरेर बेच्ने र सुन किन्ने समूहको तीन समूहको लिंक चार्ट नै बनाइयो। सुन ल्याउने समूहमा ६ जनाको सूचिमा फोन सम्पर्कको आधारमा महरा र छोरा राहुलको नाम उल्लेख गरियो। तर औपचारिक छानबिनमै ल्याएन। अनुसन्धानै नगर्दा शंका बढायो।
सुन भएको भेप चोरेर अर्को भेप राखिदिने भन्सारका कर्मचारी रेवन्त खड्कासहित नौ जना विरुद्ध आपराधिक विश्वास घात र संगठित अपराधमा २०८० असार २७ मा मुद्दा दर्ता भयो। त्यो बेलामा गृहमन्त्री थिए माओवादीका नारायणकाजी श्रेष्ठ, सिआइबीमा किरण बज्राचार्य।
पहिलो अभियोग पत्रबाट सुन तस्करी समूहका सदस्यसँग महराको बाबु छोराको सम्बन्ध खुलायो। तर सामान्य सोधपुछसम्म नगरी सिधै उन्मुक्ति दिएको देखिएपछि आलोचना सुरु भयो। बढ्दो दबाब साम्य बनाउन पुन अनुसन्धान ब्युँताएर राहुललाई पक्राउ गरियो, कृष्णबहादुरसँग कागज गराइयो।
२०८० असोज २३ मा पूरक अभियोग पत्र जाँदा राहुल भनिने रेशम महरा,दावा छिरिङ र लोकेन्द्रकुमार पौडेल अभियुक्त बने। कृष्णबहादुर किन अभियुक्त बनेनन् खुलाइएन। मौन नै रह्यो।
कागजमा कृष्णबहादुरले वाङसँगको सम्पर्क स्वीकार गरे। फलफूल व्यापारीको रूपमा चिनेको दाबी गर्दै भन्सारमा सामान अड्किएको छ एक पटक बुझिदिनु न भनेर आग्रह गरेपछि भन्सार प्रमुख अरुण पोखरेललाई कल गरेर कानुन अनुसार मिल्छ भने छाडिदिनु भनेको बताए। पोखरेलको बयानबाट पनि कल गरेको खुल्यो। तर छाड्न दबाब दिएको उनीबाट पनि खुलेन।
अभियोग पत्रमा कृष्णबहादुर र पोखरेलबीच पटक-पटक सम्पर्क भएको दाबी छ। तर महरा र पोखरेल दुवैको बयानबाट एक पटक सम्पर्क भएको र महराले भेपबारे चासो राखेको देखिन्छ। महराका छोरा राहुल भने पटक पटक भन्सार कार्यालय गएर भेप छुटाउन दबाब बढाएको देखिन्छ।
मन्त्री र प्रमुख बदलिए लगत्तै एक्सन
कांग्रेस-माओवादीको गठबन्धन भत्किएर एमाले-माओवादी गठबन्धन बनेसँगै गृह मन्त्रालयको नेतृत्वमा रवि लामिछाने फर्किए। यो बिचमा भेपको आवरणमा भएको सुन तस्करीलाई माथ खुवाउनेगरि ब्रेकशुबाट सुन तस्करी भइरहेको घटना खुल्यो। लामिछानेले प्रहरी अनुसन्धानसँगै सुन तस्करीबारे जाँचबुझ गर्न आयोगै गठन गरे।
आयोगले प्रतिवेदन बुझाए पनि सरकारले सार्वजनिक गरेन। लुकाएर राख्यो। अझै सार्वजनिक गरेको छैन। यही बिचमा सिआइबीको नेतृत्व बदलिएर श्याम ज्ञवाली आए। उनी आएपछि सुन छानबिन आयोगको प्रतिवेदन अनुसार पुन अनुसन्धान गर्ने भनेर २०८० चैत ५ मा कृष्णबहादुर महरालाई पक्राउ गरियो। तर स्वास्थ्य अवस्थाको कारण देखाएर हाजिर जमानीमा छाडियो।
यो बिचमा दीपक थापा सिआइबीहुँदै आइजी नै भए। ब्युरोको नेतृत्व बदलिइरह्यो। तर महराको अनुसन्धान टुंगिएन। जेन-जी आन्दोलनबाट बनेको सरकारले सिआइबीमा मनोज केसीलाई ल्यायो। एकाएक महरा आइतबार समातिए। सोमबार मुद्दा नै दायर भयो।
फोन सम्पर्क नै मुख्य प्रमाण
पहिलो पटक २०८० असारमा लगिएको अभियोग पत्र अनि सोमबार दर्ता भएको अभियोग पत्रका प्रमाण हेर्ने हो भने मुख्य प्रमाणका रूपमा त्यही कल डिटेल, महराले भन्सार प्रमुख अरुण पोखरेललाई गरेको फोन कल मात्र देखिन्छ।
तेस्रो चरणको अनुसन्धानमा पनि महरा सुन तस्करीमा प्रत्यक्ष संलग्न भएको प्रमाण उल्लेख छैन। सोमबार पेस भएको अभियोग पत्रमा महरा सुन तस्करीमा संलग्न रहेको दाबी गर्दा निम्न आधार टेकिएको छ।
१-चिनियाँ नागरिक दाओजिन वाङ र कृष्णबहादुर महराका छोरा (हाल जेलमा रहेका) राहुल उर्फ रेशम महरा चीनमा सन् २०११ तिर अध्ययनका क्रममा चिनजान भएको। त्यसपछि दुबैबीच नियमित सम्पर्क र आवतजावत हुँदै आएको तथा वाङले महराको परिवारसँग घनिष्ठ सम्बन्ध कायम रहेको देखियो।
२-राहुल महराको साथी दाओजिन वाङ र उसकै साथी ली हानसङले २०७९ साल मंसिर १० गते दुबईबाट ल्याएको ७३० थान भेप्स (इलेक्ट्रोनिक सिगरेट) त्रिभुवन विमानस्थलमा भन्सार जाँचमा रोकिएपछि त्यसलाई निकाल्न तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई कृष्णबहादुर महराले दुई पटक फोन सम्पर्क गरेको विवरण कल रेकर्डबाट प्रमाणित भएको।
३-दाओजिन वाङसँग भएका १८ वटा फोन सम्पर्कमध्ये १२ पटक महरा स्वयंले सम्पर्क गरेको देखिन्छ। महराले ‘अरू कसैले फोन गरेको हो’ भनेर इन्कार गरे पनि, सो नम्बर महराकै प्रयोगमा रहेको पुष्टि भएकाले बयान खण्डित भएको छ।
४-महराका छोरा निर्मल महराले पनि वाङसँग पारिवारिक सरहको सम्पर्क र घरमा आवतजावत भएको स्वीकारेको, महराले सञ्चार मन्त्रीहुँदा वाङ भेट्न घरमा आएको।
५-महराको प्रयोगमा रहेको मोबाइल नम्बर (निर्मल महराको नाममा दर्ता गरिएको) बाट फेसबुक खोलिएको, र सोही नम्बरबाट दाओजिन वाङसहित अन्य व्यक्तिहरूसँग नियमित सम्पर्क भएको मोबाइल कल विवरणमा खुलेको।
६-दाओजिन वाङको मोबाइल नम्बरसँग राहुल महराको मोबाइल नम्बर , राहुलकी श्रीमती विमला महरा (केसी) को मोबाइल नम्बर , र कृष्णबहादुर महराको प्रयोगमा रहेको (निर्मल महराको नाममा दर्ता गरिएको) मोबाइल नम्बरबाट दाओजिनसँग पटक–पटक सम्पर्क भएको।
७-सुन तस्करी नजिकका मितिहरूमा यी नम्बरबिच निरन्तर फोन सम्पर्क भएको, त्यसै समयमा काठमाडौंमा आउन भनिएको र निर्मल महराले आफू दाङमा भएको कारण आउन नसकेको बताए पनि सम्पर्क विवरणले त्यसको पुष्टि नगरेको।
८-महराका नातेदार गंगा बहादुर केसीको मोबाइल नम्बर र दाओजिन वाङबीच पनि पटक–पटक सम्पर्क भएको।
प्रहरीले यही आठ बुँदाको आधारमा कृष्णबहादुर महरा सुन तस्करीमा संगठित रूपमा संलग्न रहेको दाबी गरेको छ। तर अभियोग पुष्टि हुने बलियो प्रमाण देखिन्न। भन्सार प्रमुखसँगको एक कलको कारण खुल्छ तर अन्य कलको कारणसम्म खुलेको छैन। सुन तस्करीकै लागि कल भएको अनुमान मात्र देखिन्छ।
फोन कल र सम्पर्कको कारण नखुलेपछि अभियोग पत्रमा 'आयोग र प्रहरी प्रतिवेदन अनुसार, महरा र वाङबीचको सम्बन्धका कारण दुवै संगठित रूपमा सुन तस्करी तथा भेप्स (इलेक्ट्रोनिक सिगरेट) भन्सार चोरी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको देखिने दाबी गरियो।
अर्को बुँदामा राजनीतिक रूपमा प्रभावशाली पदमा रहेर महराले अपराधमा संरक्षण र सहयोग गरेको र आफ्नो उच्च राजनीतिक हैसियतको दुरुपयोग गरी राज्यको शक्ति आपराधिक समूहको हितमा प्रयोग गरेको तर्क छ। तर कसरी दुरुपयोग गरे खुल्दैन। कसरी संरक्षण गरेको देखियो कतै तथ्य देखिँदैन। भन्सार प्रमुखसँग फोनमा कुरा भएको महरा र भन्सार प्रमुखले खुलाए पनि छाड्न दबाब बढाएको, राज्यका अन्य निकायका अधिकारीलाई फोन गरेर भन्सारमा दबाब बढाएको खुलेको छैन।
अभियोग पत्रमा सुन तस्करीमा संलग्न साहेब राव पाण्डुरङ मरगले सुन तस्करी जाँचबुझ आयोगमा दिएको बयानमा सुन तस्करीमा महरा र फरार रहेका चिनियाँ नागरिकहरूको लगानी छ भनेर लगाएको आरोपलाई पनि प्रमाण मानेको छ। तर उनको आरोप पुष्टि हुने आधार उल्लेख छैन।
छोरा राहुललाई कारागारबाट निकाल्न अमेरिकी दूतावासमा कार्यरत तपस गुप्तालाई महराले 'सुन तस्करीमा सरकार वा प्रहरीको कुनै प्रमाण छैन। यो मेरो र मेरो छोरामाथि गरिएको राजनीतिक प्रतिशोध हो। मैले प्रेस विज्ञप्ति र पत्रकार सम्मेलनमार्फत सत्यता सार्वजनिक गरिसकेको छु। मेरो छोरा निर्दोष छ, त्यसैले पश्चिम र दक्षिणका प्रभावशाली ठाउँमा कुरा गर्नुहोस्' भनेर गरेको च्याटलाई महरा बाह्य सहयोग खोज्न प्रयासरत रहेको र राजनीतिक दबाबमार्फत अभियोगबाट उम्किन खोजेको व्याख्या छ अभियोग पत्रमा। यो पनि तथ्य भन्दा अनुमान बढी देखिन्छ।
सो मेसेजपछि गुप्ताले के गरे?, उनले सघाउन खोजे या खोजेनन् त्यसबारे थप केही खुलाइएको छैन। कल विवरण अनुसार, दाओजिन वाङसँग १७ पटक, नवीन बस्नेतसँग २६६ पटक, राहुल महरासँग ४ पटक, निर्मल महरासँग ८ पटक र कृष्णबहादुर महरासँग ४१ पटक सम्पर्क भएको उल्लेख छ। तर कल गर्नुको प्रयोजन उल्लेख छैन।
यसअघि सुन तस्करी प्रकरणमा संलग्न जीवन कुमार गुरुङसँग महरा परिवारको उठबस, खानपिन र सहयोग सम्बन्ध रहेको र आयोगको प्रतिवेदन अनुसार महराकी पत्नी बिरामी हुँदा उनको भारत उपचारका क्रममा गुरुङले सहयोग गरेको विवरणलाई सुन तस्करीमा जोडेर व्याख्या गरिएको छ।
यी विवरणले अनुसन्धानका लागि आधार दिन सक्छ तर अपराधमा संलग्नै हो भनेर पुष्टि गराउन थप प्रमाण आवश्यक पर्छ। त्यो थप प्रमाण अभियोग पत्रमा खुल्दैन।
थप प्रमाणमा जीवन कुमार गुरुङले आयोगमा दिएको बयानमा एटम (अर्थात् निर्मल महरा) र मानिका यादव मार्फत कृष्णबहादुर महरासँग चिनजान भएको र सम्बन्ध विस्तार हुँदै जाँदा उनीहरू सँगै खाना–पिउन जाने, भेटघाट गर्ने, र दाओजिन वाङ सँगको सम्बन्ध पनि नजिक भएको बताएका छन्। यसमा त्यो उठबस सुन तस्करीमा सहकार्यको चरणमा पुगेको हो वा हैन उल्लेख छैन।
बयानमा उनले दाओजिन वाङले लगानी गरी खरिद गरेको गाडी ‘डस्टर’ मर्सिडिज महराको घरमा राखिएको र सो गाडी वाङलाई प्रयोग गर्न दिने काम महराको सहरीकरणमा भएको र पछि प्रहरीले गाडी खोजेपछि गाडी सिआइबीमा बुझाएको दाबीलाई नि प्रमाण मानेको छ।
"यसरी, आयोगको प्रतिवेदन अनुसार, कृष्णबहादुर महराले दाओजिन वाङलाई सवारी साधन उपलब्ध गराएर पनि सहयोग गरेको ठहर भएको छ" अभियोग पत्रमा दाबी छ।
प्रतिवेदनले दाओजिन वाङ र कृष्णबहादुर महराबीच लामो, अटुट र अस्वाभाविक सम्बन्ध रहेको र २०७९ साल मंसिर १० गते दुबईबाट ल्याइएको इलेक्ट्रोनिक सिगरेट (भेप्स) भन्सारमा रोकिनासाथ महराले तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई फोन गरी उक्त सामान निकाल्न दबाब दिएको र आफ्ना छोरा राहुल (रेशम) महरालाई पनि सो कार्यमा पठाएको प्रमाण कल विवरण र साक्ष्यहरूले पुष्टि गरेको थप व्याख्या देखिन्छ।
"यी सबै प्रमाणहरूबाट महरा र दाओजिन वाङले मिलेमतो र योजनाबद्ध ढंगले भेप्स (इलेक्ट्रोनिक सिगरेट) को आवरणमा सुनको अवैध तस्करी गरेको र महराले आफ्नो राजनीतिक पद र प्रभावको प्रयोग गरी आपराधिक समूहलाई सहयोग पुर्याएर राज्य संयन्त्रलाई भ्रममा पार्ने काम गरेको" निष्कर्ष देखिन्छ।
तर यी प्रमाणले शंका गर्नेसम्मको पृष्ठभूमि बनाए पनि अपराधै गरेको पुष्टि गर्न सहज देखिन्न। आयोगले सुन तस्करीमा महराको संलग्नता शङ्कास्पद रहेको भन्दै थप अनुसन्धान गर्न गरेको सिफारिसलाई नै अभियोग पुष्टिको प्रमाण जसरी पेस गरिएको छ।
महराको सम्बन्ध, उनको छोराहरूको सक्रियता शंकारहित छैन। चिनिया नागरिकसँग ५० करोड माग्दै भएको फोन कल, सभामुखहुँदा संसद्को कर्मचारीको डेरामा गएर भएको बलात्कार प्रयासको घटनाले उनी निरन्तर विवाद र कानुनी परीक्षणमा परे। बलात्कार प्रयासको घटनामा उनले सफाइ पाए पनि पीडितमाथि दबाब र प्रभाव बढाएर सफाइ पाएको देखियो।
पछि उनी सुन तस्करीमा जोडिए। सुन तस्करीमा उनको संलग्नता खुलाउन प्रहरीले जुन तहको प्रमाण पेस गर्न सक्नु पर्ने हो त्यो नदेखिनुको कारण उनको सम्बन्ध सुन तस्करीमा संलग्न तहसम्मको नभएको वा प्रहरीले प्रमाण संकलनै गर्न नसकेको ? यसको उत्तर अब न्यायिक परीक्षणको नतिजाबाट मात्र आउन सक्छ।
असोज २८, २०८२ मंगलबार १४:४७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।