‘फरार कैदी खोज्न आएको’ भन्दै मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि...

चितवन : चितवनको कालिका नगरपालिका-६, सिमलघारीमा सोमबार मध्यरातमा प्रहरीको जस्तै पोशाक लगाएका व्यक्तिहरूले एक पत्रकारको घरमा चोरीको प्रयास गरेका छन्।
घरधनीसँग जम्काभेट भएपछि आफूहरूलाई ‘फरार कैदी खोज्न आएको प्रहरी’ बताउँदै उनीहरू भागेका हुन्।
घटना नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा भएको हो।
खतिवडाका अनुसार, उनी र उनका भाइ नजिकैको काकाको घरमा क्रिकेट हेरेर राति १२ बजेतिर घर फर्किएका थिए। घर फर्कंदा सडक र घरअगाडिको बत्ती निभाइएको देखेपछि उनलाई शंका लागेको थियो।
‘घरको आँगनमा पुग्नासाथ एक अपरिचित व्यक्ति बरण्डाबाट निस्कियो,’ खतिवडाले घटनाबारे भने, ‘शुरूमा चोर ठानेर म आत्तिएँ, तर उसले उल्टै कारागारबाट भागेको कैदी यहाँ लुकेको छ, कहाँ छ? भनेर सोध्यो।’
त्यसपछि ती व्यक्ति सडकमा मोटरसाइकल लिएर बसेका अर्का एक जनासम्म पुगे। दुवैले आफूहरू प्रहरी भएको र फरार कैदीको ‘लोकेसन’ यहीँ देखाएकाले खोज्न आएको बताएका थिए। उनीहरूले हतियार जस्तो देखिने वस्तुसमेत बोकेको खतिवडाले बताए।
उनीहरू गएपछि खतिवडाले घरभित्र हेर्दा झ्यालको पल्ला खोलेको, मोटरसाइकल, जुत्ता र हेल्मेट अन्यत्र सारेको भेटेका थिए।
सोही रात नजिकै रहेको उनका काका कालिदास खतिवडाको घरबाट एउटा पल्सर मोटरसाइकल समेत चोरी भएको छ। बत्ती निभाएर चोरी गर्ने नियतले पसेका व्यक्तिहरू जम्काभेट भएपछि प्रहरीको नाटक रचेर उम्किएको खतिवडाको भनाइ छ।
इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरिएको र अनुसन्धान शुरू भएको बताए।
‘उनीहरू प्रहरी नभई चोरी गर्ने नियतले नै आएको देखिन्छ’, उनले भने।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले घटनाको अनुसन्धान सबै कोणबाट भइरहेको जानकारी दिए।
‘उनीहरू फरार कैदीबन्दी नै हुन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन, हामी सबै पक्षबाट अनुसन्धान गरिरहेका छौँ’, उनले भने।
पछिल्लो समय चितवनसहित देशका विभिन्न कारागारबाट कैदीबन्दीहरू फरार रहेका छन्।
असोज २८, २०८२ मंगलबार १४:०९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।