भाइटीकाको साइत सार्वजनिक

भाइटीकाको साइत सार्वजनिक

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे रहेको घोषणा गरेको छ। समितिका अनुसार, यमपञ्चक अर्थात् तिहार पर्व कात्तिक १ गते शनिबारदेखि शुरू हुनेछ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते मध्याह्नकालमा टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेहरूका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ संयोगमा उत्तम साइत निकालिएको हो।

समितिका सदस्य प्रा. देवमणि भट्टराईले भने, ‘राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्छ, तर सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन।’

कात्तिक १ गते धनतेरस/धन त्रयोदशी छ। यसै दिनदेखि यमदीप दान प्रारम्भ हुनेछ भने दोस्रो दिन कात्तिक २ गते काग तिहार र धन्वन्तरि जयन्ती मनाइन्छ।

कात्तिक ३ गते कुकुर तिहार र लक्ष्मीपूजा मनाइन्छ। यस दिन बिहान नरक स्नान गरी कुकुर तिहार र साँझ लक्ष्मीपूजा मनाइनेछ। समितिले सो दिन दिउँसो ०२:५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले सायंकालमा लक्ष्मीपूजा गर्नु शास्त्रसम्मत रहेको जनाएको छ।

औँसी स्नान र दान कात्तिक ४ गते परेको छ भने ५ गते गाई, गोरु र म्हः पूजा तथा नेपाल संवत् ११४६ प्रारम्भ हुनेछ। आत्म (म्हः) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ र प्रतिपदाको सूर्योदयकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् यसै दिन शुरू हुनेछ।

त्यसै गरी कात्तिक ६ गते बिहीबार भने भाइटीका (किजा पूजा) रहेको छ। उक्त दिन विहान ११ बजेर ३९ मिनेटमा टीका लगाउँदा उत्तम हुने समितिले जनाएको छ।

शास्त्रीय ग्रन्थहरूमा ‘भ्रातृपूजा’ शब्दले दाजु र भाइ दुवैलाई बुझाउने भएकाले भाइटीका भनिए पनि ज्येष्ठताको क्रमानुसार टीका लगाउनु शास्त्रसम्मत हुने समितिले स्पष्ट पारेको छ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्वमा यमदीप दान गर्दा यमयातनाबाट मुक्ति पाइने विश्वास छ। काग र कुकुरलाई यमदूतका रूपमा पूजा गरी मीठा परिकार खुवाउने परम्पराले यमलोकमा सहज हुने शास्त्रीय मान्यता रहिआएको छ।

असोज २८, २०८२ मंगलबार १३:३१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।