नेपाल एयरलाइन्सद्वारा कात्तिक २ गतेको ग्वाङ्जाओ उडान रद्द

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कात्तिक २ गतेका लागि तय भएको काठमाडौं-ग्वाङ्जाओ उडान रद्द गरेको छ।
निगमले ‘आन्तरिक कारण’ले उडान रद्द गर्नुपरेको जनाउँदै उक्त उडानका यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरिसकेको बताएको छ।
निगमले केही सञ्चारमाध्यममा ‘यात्रु अभावले उडान रद्द भएको’ भनी आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रवक्ता सुवास डाँगीद्वारा जारी विज्ञप्तिमा उक्त समाचारमा सत्यता नभएको दाबी गरिएको छ।
आफ्नो दाबीलाई पुष्टि गर्न निगमले अन्य उडानहरूको टिकट बिक्री तथ्याङ्क पनि सार्वजनिक गरेको छ।
जसअनुसार, अक्टोबर १६ को काठमाडौं-ग्वाङ्जाओ उडानमा ६८ र अक्टोबर १७ को ग्वाङ्जाओ-काठमाडौंमा ४१ जना यात्रु छन्। त्यस्तै, अक्टोबर २३ र २४ का लागि क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमले जनाएको छ।
निगमले ग्वाङ्जाओ नयाँ गन्तव्य भएकाले यसको प्रचारप्रसार जारी रहेको र टिकट बुकिङ बढ्ने क्रममा रहेको बताएको छ। विज्ञप्तिमा नयाँ सेक्टर प्रवर्द्धनमा सघाउन निगमले सञ्चारमाध्यम लगायत सबैसँग अनुरोधसमेत गरेको छ।
असोज २८, २०८२ मंगलबार १२:४१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।