टी-२० वरीयतामा नेपालको सुधार, अमेरिकालाई पछि पार्दै १७औं स्थानमा

टी-२० वरीयतामा नेपालको सुधार, अमेरिकालाई पछि पार्दै १७औं स्थानमा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसीको टी-२० अन्तर्राष्ट्रिय वरीयतामा एक स्थान माथि उक्लिएको छ।

ओमानमा जारी आईसीसी पुरुष टी-२० विश्वकप छनोटमा लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै नेपाल अमेरिकालाई पछि पार्दै १७औं स्थानमा पुगेको हो।

आईसीसीले अपडेट गरेको नयाँ वरीयताअनुसार नेपालले एक स्थान सुधार गर्दा अमेरिका एक स्थान तल झरेर १८औं स्थानमा पुगेको छ। नेपालभन्दा अगाडि १६औं स्थानमा यूएई र १५औं स्थानमा नामिबिया रहेका छन्।

विश्वकप छनोटमा नेपालले हालसम्म खेलेका चारवटै खेलमा अपराजित रहँदै शानदार प्रदर्शन गरिरहेको छ। यही लगातारको जितले नेपालको वरीयतामा सुधार आएको हो।

यससँगै नेपालले वरीयतामा केही एसोसिएट प्रतिस्पर्धीहरू अमेरिका, क्यानडा (१९औं) र ओमान (२०औं) लाई पछि पारेको छ।

टी-२० विश्वकप छनोटमा नेपालले अब आयोजक ओमान र सामोआसँग खेल्न बाँकी छ। यी खेलहरूमा पनि जित हात पारेमा नेपालको वरीयता थप सुधार हुने सम्भावना छ।

असोज २८, २०८२ मंगलबार ११:५५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।