जेन-जी आन्दोलनको एक महिनापछि मन्त्री क्वार्टर पुग्दा...

काठमाडौं : भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा भएको शान्तिपूर्ण भनिएको भदौ २३ गतेको प्रदर्शन हिंसात्मक बन्दा त्यसको असर ललितपुरको भैँसेपाटीस्थित मन्त्री क्वार्टरमा पनि पर्यो।
प्रहरीले चलाएको गोली लागेर १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि देशैभरि आक्रोशको आगो फैलियो, जसको एउटा ज्वालाले भोलिपल्टै भैँसेपाटीको मन्त्री क्वार्टरलाई निसाना बनायो।
तीन तहको सुरक्षा भए पनि ठूलो भीडलाई रोक्न सकेन। २८ मध्ये २७ वटा मन्त्री क्वार्टरमा आगो लगाइयो। सुरक्षाकर्मी बस्ने भवनमा पनि ढुङ्गा प्रहार भयो। झ्यालका सिसा फुटे।
आन्दोलनको एक महिनापछि उकेराकर्मी तीन तहको सुरक्षा घेराले घेरिएको भैँसेपाटीस्थित मन्त्री क्वार्टर पुग्दा त्यहाँ सन्नाटा थियो। कुनै बेला राज्यका शक्तिशाली मन्त्रीहरूको सुरक्षित आवास भनिएको यो ठाउँ अहिले जलेका भवनका काला भित्ताहरू र फुटेका सिसाले कुरुप भएका छन्।
मर्मतका कुनै पनि काम भएका छैनन्। काला भित्ता र फुटेका झ्यालका सिसाहरू त्यस्तै नै छन्। प्रहरी र सशस्त्रले काला भित्ता र फुटेका झ्यालका सिसासहितको भवनलाई सुरक्षा दिइरहेको छ।
त्यस दिन ड्युटीमा रहेका एक प्रहरी जवान त्यो भयावह क्षण सम्झिँदै भन्छन्, ‘ठूलो भीड थियो। उनीहरू सीधै भित्र पसेर आगो लगाउन थाले, हामीले रोक्नै सकेनौँ।’
परिसरमा आगलागी नियन्त्रणका लागि ‘फायर हाइड्रेन्ट’ (पानी फाल्ने प्रणाली) जडान गरिएको थियो, तर त्यो पनि काम लागेन। ‘पानी फाल्ने मेसिन चल्ने अवस्थामै थियो, तर त्यो आन्दोलनकारीकै हातमा पर्यो। कसैले पानी हाल्न खोजे, कसैले भाँच्नतिर लागे। हामीले चलाउनै पाएनौँ’, उनी भन्छन्।
संघीय मन्त्रीको क्वार्टर सुरक्षामा खटिएकी एक महिला प्रहरीका अनुसार मन्त्रीहरू बस्ने लगभग सबै भवन जलेर काला भएका छन्। ‘हामी बस्ने क्वार्टरबाहेक अरू सबै जलेर चिन्न नसकिने भएका छन्। केही भवनहरू मर्मत गरेर बस्न मिल्ला कि’, उनी भन्छिन्।
२०८० भदौ १० गते निर्माण सम्पन्न भएर सञ्चालनमा आएका यी क्वार्टरहरूमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका कुनै पनि मन्त्री बस्न पाएनन्।
राज्यको १ अर्ब ७७ करोड रुपैयाँ लगानीमा बनेको यो भवनहरू ९६ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ। यी तीनतले निवासहरूमा प्रतीक्षा कक्ष, सचिवालय, बैठक हल, योग कोठा, पूजा कोठादेखि गोप्य कोठासम्मका सुविधा थिए।
असोज २८, २०८२ मंगलबार १०:५७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।