मर्मतपछि बेनी-दरवाङ सडकमा ठूला सवारी सञ्चालन

मर्मतपछि बेनी-दरवाङ सडकमा ठूला सवारी सञ्चालन

म्याग्दी : सदरमुकाम बेनीसँग पश्चिमी म्याग्दीका तीन स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडक मर्मतपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

गत असारदेखि बर्खायामको पहिरोका कारण अवरुद्ध सडकमा अहिले बस तथा ट्रकजस्ता ठूला सवारी साधन चल्न थालेका हुन्।

पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरो जस्ता ठाउँमा खसेको पहिरो पन्छाएर सडक फराकिलो बनाएको हो।

कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएसँगै सडक मर्मत गरेर दुईतर्फी रूपमा ठूला सवारीसाधन चल्न सक्ने बनाइएको जानकारी दिए।

यसअघि पहिरोले साँघुरिएको सडकमा जीप र ट्याक्सीजस्ता साना सवारी मात्र जोखिमपूर्ण रूपमा चल्दै आएका थिए।

२४ किलोमिटर लामो यो सडक म्याग्दीका धवलागिरि, मालिका र मङ्गला गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको तमानखोलाका बासिन्दाले प्रयोग गर्छन्।

सडक सञ्चालनमा आएसँगै यातायात व्यवसायीले लामो दूरीका सवारी सञ्चालन गर्न थालेका छन्। म्याग्दी मालिका यातायात प्रालिका सञ्चालक अर्जुन आचार्यले सडक सुधार भएपछि काठमाडौं-दरवाङ रात्रिबस सेवा पुनः सुरु भएको बताए।

सडक सुचारु हुँदा म्याग्दी नदीमा निर्माणाधीन चारवटा जलविद्युत् आयोजना, सडक, पुललगायतका पूर्वाधार निर्माणका लागि सामग्री ढुवानीमा पनि सहज भएको छ।

यद्यपि, स्तरोन्नतिको अन्तिम चरणमा रहेको यस सडकका विभिन्न खण्डमा देखिने पहिरोको दिगो व्यवस्थापन नहुँदा बर्खायाममा पश्चिम म्याग्दीको यातायात सेवा हरेक वर्ष प्रभावित हुने गरेको छ।

असोज २८, २०८२ मंगलबार ०९:५९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।