ब्याटिङ टुकटुक, सेकेण्ड इनिङ ढुकढुक!

ब्याटिङ टुकटुक, सेकेण्ड इनिङ ढुकढुक!

काठमाडौं : साहित्यकार सुरेश बडाले फेसबुकमा लेख्छन्, ‘ब्याटिङ टुकटुक अनि सेकेण्ड इनिङ ढुकढुक! हरेक दिनको कथा र जीत! बधाई नेपाल।’ अनि पत्रकार दिनेश न्यौपाने थप्छन्, ‘अझै भन्छु, कमजोर मुटु भएकाहरू नेपालको क्रिकेट नहेर!’

यी दुई भनाइले पछिल्ला दुई दिनमा नेपाली क्रिकेट र समर्थकलाई भोगाएको अनुभवलाई जस्ताको तस्तै गरी बताउँछ। पहिलो इनिङ्समा ब्याट्सम्यानहरूले संघर्ष गर्दै ‘टुकटुक’ रन बनाउँछन्, जसले स्कोरबोर्डमा रन त्यति धेरै बन्दैन।

अनि त्यही सामान्य स्कोर बचाउन बलर र फिल्डरहरूले दोस्रो इनिङ्समा जुन संघर्ष गर्छन्, त्यसले अन्तिम बलसम्म समर्थकको मुटुको धड्कन ‘ढुकढुक’ बढाइदिन्छ। आईसीसी टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले युएई र कतारलाई हराउँदाको अवस्था पनि ठ्याक्कै यही नै हो- संघर्ष, तनाव र अन्त्यमा अविश्वसनीय जित।

कुनै पनि क्रिकेट खेलमा ब्याट्सम्यानले राम्रो स्कोर बनाए भने बलरहरूलाई खेल्न सजिलो हुन्छ र जितको आधार बलियो बन्छ। तर, नेपालको कथा यी दुई खेलमा ठिक उल्टो देखियो।

आइतबार भएको युएईविरुद्धको खेलमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेपछि कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ५६ रन जोडे। तर, त्यसपछि रन बनाउने गति सुस्त भयो। आसिफ शेखले एकातर्फबाट टिकेर ५१ रन बनाए पनि अरू ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्, उनी टुकटुकमै सीमित रहे।

विस्फोटक मानिएका दीपेन्द्र सिंह ऐरी १ रनमै आउट हुँदा मध्यक्रमको कमजोरी छर्लङ्गै देखियो। यदि अन्तिममा गुल्शन झाले जम्मा ५ बलमा १४ रन नबनाएको भए नेपालको स्कोर अझै कम हुन्थ्यो। नेपालले २० ओभरमा १४० रन बनायो, जुन टी-ट्वान्टीमा जित्नका लागि पर्याप्त थिएन, तर जेनतेन संघर्ष गर्न सकिने स्कोर थियो।

सोमबार कतारविरुद्ध पनि उस्तै कथा दोहोरियो। नेपालले सुरुमै विकेट गुमायो र ४८ रन बनाउँदा ३ जना ब्याट्सम्यान आउट भइसकेका थिए। त्यसपछि कप्तान रोहित पौडेलले जिम्मेवारीपूर्वक ब्याटिङ गरे। उनले ५८ रनको महत्त्वपूर्ण पारी खेले। उनलाई दीपेन्द्रले साथ दिए र इनिङ्स सम्हाले।  तर, फेरि पनि नेपालले सोचेजस्तो ठूलो स्कोर बनाउन सकेन र १४७ रनमा समेटियो।

यी दुवै खेलको ब्याटिङ हेर्दा के देखिन्छ भने नेपालले बलरहरूलाई एउटा लड्न सक्ने आधार त दियो, तर खेल जित्न सकिने अवस्था सिर्जना गर्न सकेन। त्यसका लागि केही अविश्वसनीय गर्नुपर्ने अवस्था आइलाग्यो। यही सामान्य स्कोरले गर्दा हरेक खेलको दोस्रो इनिङ्स समर्थकका लागि ‘ढुकढुक’ बन्न पुग्यो।

जब नेपाल बलिङ र फिल्डिङमा उत्रियो, तब खेलको असली रोमाञ्च सुरु भयो। हारेको जस्तो देखिने खेललाई नेपालले आफ्नो पक्षमा पार्यो, त्यो पनि एकपटक होइन, लगातार दुई पटक।

युएईविरुद्ध १४१ रनको लक्ष्य पछ्याएको विपक्षी टोलीले ११ ओभरमा ८३ रन बनाएर १ विकेट मात्र गुमाएको थियो। उनीहरूलाई जित्न असाध्यै सहज देखिन्थ्यो। धेरै नेपाली समर्थकले लगभग आशा मारिसकेको अवस्था थियो। तर, त्यहीँबाट खेल बदलियो।

ब्याटले चल्न नसकेका दीपेन्द्र सिंह ऐरीले बल र फिल्डिङबाट खेल जिताए। उनले पहिलेदेखि नै क्रिजमा टिकिरहेको साझेदारी तोडे, त्यसपछि सहजै रन बनाइरहेका ब्याट्सम्यान अलिसान सराफुलाई आउट गरे। फिल्डिङमा पनि उनले उत्कृष्ट रनआउट गराए।

युएईसँगको खेलको नाटक अन्तिम ओभरमा चरमविन्दुमा पुग्यो। युएईलाई जित्न १० रन चाहिएको थियो र बल दीपेन्द्रको हातमा थियो। तेस्रो बलमा छक्का खाएपछि अब ३ बलमा ३ रन मात्र चाहियो, जुन सहजै तरिकाले युएईले जित्ने देखिन्थ्यो।

तर, चौथो बलमा युएईको ब्याट्सम्यान आउट भए। पाँचौं बलमा रन लिन खोज्दा रनआउट भए, तर ‘सर्ट रन’ भएकाले कुनै रन पनि पाएनन्। अब अन्तिम बलमा ३ रन चाहिने भयो। तर, उनीहरूले एक रन मात्र लिन सके र फेरि रनआउट भए। यसरी नेपालले हारेको खेल १ रनले जित्यो।

सोमबार कतारसँग खेल्दा पनि त्यस्तै भयो। १४८ रनको लक्ष्य पछ्याएको कतारले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गर्यो। फेरि पनि नेपाल हार्ने पक्कापक्की भइसकेको थियो। समर्थक निराश बनिसकेका थिए भने खेलाडीहरूमा पनि विकेट नआएकाले नैराश्यता प्रष्टै देखिन्थ्यो।

तर, यसपटक नेपाललाई खेलमा फर्काउने काम लेग स्पिनर सन्दीप लामिछानेले गरे। उनले पहिलो विकेट लिएर साझेदारी तोडे, जुन उनको २५०औं अन्तर्राष्ट्रिय विकेट थियो। त्यसपछि नन्दन यादवको ओभरमा दीपेन्द्रसिंह ऐरी र मोहम्मद आदिल आलमले लगातार दुई वटा रनआउट गरेर खेलमा दबाब बढाए।

त्यसपछि नेपालले लगातार विकेट त लियो। तर सोही अनुसारले कतारले खेलाडीहरूले रन पनि बनाइरहेका थिए। यो खेल पनि युएईको खेल झैँ अन्तिम ओभरमा पुग्यो, जहाँ कतारलाई जित्न १० रन चाहिएको थियो। सन्दीपले आफ्नो अनुभव प्रयोग गर्दै कसिलो बलिङ गरे। पहिलो दुई बल डट खेलाएका उनले तेस्रो बलमा अमिर फारुकको रुपमा नवौं विकेट लिए।

अब खेलमा तीन बलमा १० रन चाहिने थियो। क्रिजमा ११ नम्बरका ब्याटर ओवसीस अहमद आए। ओभरको चौथो बलमा उनले १ रन लिएर बायाँहाते ब्याटर मुजीब उर रहमानलाई स्ट्राइक दिए। त्यसअघि उनले चार बलमा एक चौकासहित ६ रन बनाएर खेलिरहेका थिए।

ओभरको पाँचौं बलमा उनले दुई रन लिए। अब खेल जित्नका लागि सम्भव नभए पनि सुपर ओभरसम्म पुर्याउन भने सम्भव देखिन्थ्यो। एक बलमा छक्का हिर्काए खेल सुपर ओभरमा जाने थियो। अन्तिम बलमा सन्दीपले वाइड बल फ्याकेंँ, त्यसमा अगाडि बढेर हान्ने क्रममा उनी स्टम्पिङ हुने पुगे। त्यो ओभरमा सन्दीपले जम्मा ३ रन दिएर २ विकेट लिए, र नेपाललाई ५ रनले जिताए।

नेपालले कम स्कोर बनाएर पनि लगातार दुई खेल जित्नुको पछाडि केही स्पष्ट कारणहरू छन्। पहिलो, नेपाली बलरहरू रन रोक्न मात्र खोज्दैनन्, उनीहरू विकेट लिन खोज्छन्। यही आक्रामक बलिङले विपक्षी टिमलाई दबाबमा राख्छ।

दोस्रो, नेपालको फिल्डिङ निकै अनुशासित र ऊर्जावान् छ। दीपेन्द्र, आदिल आलम, सन्दीप जोरा, कुशल भुर्तेल, गुल्सन झा, कप्तान रोहित पौडेल जस्ता खेलाडीले फिल्डमा धेरै रन रोक्छन् र महत्त्वपूर्ण क्षणमा रनआउटहरू गरेर खेलको दिशा बदल्छन्।

तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कारण हो, खेलाडीहरूको कहिल्यै हार नमान्ने सोच। युएईसँगको जितपछि सोमपाल कामीले भनेजस्तै, विश्वकप खेल्ने सपनाले उनीहरूलाई मैदानमा अन्तिम साससम्म लड्न ऊर्जा दिन्छ।

युएई र कतारविरुद्धको यी दुई जितले नेपाललाई विश्वकपको नजिक पुर्याएको छ। यो खुसीको कुरा हो। तर, हरेक पटक यसरी नै कम स्कोर बनाएर जित्न सकिँदैन। ‘ब्याटिङ टुकटुक, सेकेण्ड इनिङ ढुकढुक’ को शैली रोमाञ्चक त छ, तर भरपर्दो छैन।

विश्वकपजस्तो ठूलो प्रतियोगितामा बलिया टिमहरूसँग खेल्नका लागि नेपालले आफ्नो ब्याटिङमा धेरै सुधार गर्नुपर्छ। ब्याट्सम्यानहरूले जिम्मेवारी लिएर ठूलो स्कोर बनाउनैपर्छ, ताकि बलरहरूलाई खेल जित्न केही सहज होस्।

अहिलेलाई यो तनावपूर्ण तर मीठो जितको खुसी मनाऔँ। तर, प्रशिक्षक स्टुअर्ट लले भनेको जस्तै ‘कार्डियाक किड’को ट्याग नेपालले हटाउनैपर्छ। भविष्यमा समर्थकले मुटुमा ढ्याङ्ग्रो नबजाई, ढुक्क भएर नेपालको जित हेर्न पाउने दिनको आशा पनि गरौँ।

असोज २८, २०८२ मंगलबार ०९:४६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।