वीरगन्जका सुन व्यवसायीको घरमा राजस्वको छापा, ठूलो परिमाणमा स्रोत नखुलेको सुन बरामद

पर्सा : राजस्व छलीको आशंकामा वीरगन्जका एक प्रतिष्ठित सुन व्यवसायीको घरमा छापा मारी ठूलो परिमाणमा स्रोत नखुलेको सुन र गरगहना बरामद गरिएको छ।
राजस्व अनुसन्धान कार्यालय, पथलैयाको नेतृत्वमा सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार वीरगन्जको माईस्थानस्थित अभिषेक सर्राफको घरमा खानतलासी गरेको हो।
सर्राफ वीरगन्ज-८ स्थित ‘अभिषेक ज्वेलर्स’ का सञ्चालक हुन्। सोमबार बिहानैदेखि उनको घर, पसल र गोदाममा शुरू भएको खानतलासी दिउँसो अबेरसम्म चलेको थियो।
राजस्व स्रोतका अनुसार, टोलीले घरका विभिन्न ठाउँमा लुकाएर राखिएको सुन, चाँदीका गहना, बन्धकीमा राखिएका वस्तु र कारोबारसँग सम्बन्धित महत्वपूर्ण कागजातहरू बरामद गरेको छ।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले राजस्व चुहावटको सूचनाका आधारमा खानतलासी गरिएको पुष्टि गरे।
उनका अनुसार, कारोबारसँग सम्बन्धित खाता, डिजिटल प्रमाण र अन्य कागजातहरू नियन्त्रणमा लिइएको छ। कार्यालयले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम प्रमाण संकलनका लागि यो कारबाही अघि बढाएको जनाएको छ।
बरामद गरिएको सुन तथा अन्य सामग्री तौल र मूल्यांकनका लागि माईस्थानस्थित सुनचाँदी व्यवसायी संघको कार्यालयमा लगिएको छ। व्यवसायी सर्राफलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैबीच, राजस्वको छापामारीको विरोधमा स्थानीय सुनचाँदी व्यवसायीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले राजस्व कार्यालयले बिनाकारण व्यवसायीलाई आतंकित पार्न खोजेको आरोप लगाएका छन्।
‘वैध रूपमा राखिएका सामग्रीमाथि पनि छापा मार्नु आपत्तिजनक छ’, एक व्यवसायीले भने।
यो घटनाले वीरगन्जको सुनचाँदी बजारमा तरंग पैदा गरेको छ भने अवैध कारोबारको विषयलाई पुनः बहसमा ल्याएको छ। राजस्व कार्यालयले भने सम्पूर्ण कारबाही कानुनी प्रक्रियाअनुसार नै भएको र अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गरिने बताएको छ।
असोज २८, २०८२ मंगलबार ०८:५१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।