मेची राजमार्ग अवरुद्ध भएको १० दिन, वैकल्पिक मार्ग पनि अनिश्चित

मेची राजमार्ग अवरुद्ध भएको १० दिन, वैकल्पिक मार्ग पनि अनिश्चित

फिक्कल : पहिरोका कारण मेची राजमार्गको इलाम-राजदुवाली खण्ड अवरुद्ध भएको १० दिन बितिसक्दा पनि सडक सञ्चालनमा आउन सकेको छैन। जसका कारण इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट लगभग विच्छेद भएको छ भने झापा, इलाम, पाँचथर र ताप्लेजुङका हजारौँ यात्रुले सास्ती भोगिरहेका छन्।

मुख्य राजमार्ग अवरुद्ध भएपछि विकल्पका रूपमा हेरिएको तिल्केनी-सिमलगोलाइ सडक पनि तत्काल सञ्चालन हुने अवस्थामा छैन। उक्त सडकखण्डअन्तर्गत पर्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माणको काम भइरहे पनि खोलामा पानीको बहाव उच्च हुनु र आवश्यक ह्युमपाइप अभावले ढिलाइ भइरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ।

सडक डिभिजन प्रमुख पवन भट्टराईका अनुसार, डाइभर्सन निर्माणका लागि पाँचथरबाट ह्युमपाइप मगाइएको छ र हाल चारवटा स्काभेटर परिचालन गरिएको छ। उनले भने, ‘हाम्रो प्रयास छिटोभन्दा छिटो सडक खुलाउने हो, तर ह्युमपाइप अभावले केही दिन लाग्ने देखिन्छ।’

गत असोज १८ गते आएको बाढीले जोगमाई खोलामा गत असारमा मात्रै निर्माण सम्पन्न भएको बेलीब्रिज बगाएपछि यो वैकल्पिक मार्ग पनि अवरुद्ध बनेको थियो।

जटिल भू-संरचनाका कारण पहिरो गएको मुख्य राजमार्ग तत्काल खुलाउन कठिन देखिएपछि जिल्ला प्रशासन कार्यालयले आइतबार सरोकारवालासँगको छलफलपछि तिल्केनी–सिमलगोलाइ सडकलाई नै विकल्पका रूपमा अघि बढाउने निर्णय गरेको थियो।

हाल साना सवारीसाधनका लागि भने तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार हुँदै फिक्कल जोड्ने अर्को ग्रामीण सडक सञ्चालनमा छ। तर, सडक साँघुरो र घुम्तीहरू बढी भएकाले ठूला तथा मालवाहक सवारीसाधनका लागि भने कुनै भरपर्दो वैकल्पिक मार्ग पहिचान हुन सकेको छैन।

असोज २८, २०८२ मंगलबार ०८:०८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।