पोखरामा 'मोडिफाइड' मोटरसाइकलमाथि कारबाही, चार जना पक्राउ

गण्डकी : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका र चर्को ध्वनि निकाल्ने मोटरसाइकलमाथि कारबाही थालेको छ। प्रहरीले हालसम्म चार वटा यस्ता मोटरसाइकलसहित चालकहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेहरूमा पोखरा-१० बुद्धचोकका सुवास कार्की, पोखरा-३ का एल्विन पुन, पोखरा-६ का सञ्जिव दुवाडी र पोखरा-५ का अमृत चापागाईं रहेका छन्। उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको बस्नेतले बताए।
प्रहरीका अनुसार, सडक दुर्घटनाको जोखिम बढाउने र ध्वनि प्रदूषणले समाजमा नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न थालिएको हो। जिल्ला प्रहरी मातहतका प्रहरीचौकी र ट्राफिक प्रहरीले संयुक्त रूपमा यस्ता मोटरसाइकल नियन्त्रणमा लिइरहेका छन्।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार, स्वीकृतिबिना सवारीसाधनको स्वरूप, रङ, साइलेन्सर, सिट, ह्याण्डल, नम्बर प्लेट जस्ता पाटपुर्जा परिवर्तन गर्नु वा ध्वनि प्रदूषण गर्ने उपकरण जडान गर्नु दण्डनीय छ। यस्तो कसुरमा १५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।
प्रहरीले होहल्ला गर्ने, ध्वनि प्रदूषण फैलाउने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
कास्की प्रहरीले गत वर्ष पनि यस्ता मोटरसाइकलविरुद्ध अभियानकै रूपमा कारबाही चलाएको थियो।
असोज २८, २०८२ मंगलबार ०७:५९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।