सन्दीपको जादुयी बलिङमा कतारमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं : सन्दीप लामिछानेको अविस्मरणीय बलिङ प्रदर्शनको मद्दतले नेपालले आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप एसिया र ईएपीछनोटको सुपर सिक्समा कतारमाथि ५ रनको सनसनीपूर्ण र रोमाञ्चक जित निकालेको छ। यो जितसँगै नेपाल अपराजित रहँदै ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ र विश्वकप छनोटको उपाधि नजिक पुगेको छ।
अल अमेरात क्रिकेट ग्राउन्डमा भएको खेलमा १ सय ४८ रनको लक्ष्य पछ्याएको कतार जित नजिक पुगेर पनि अन्तिम ओभरमा नाटकीय रूपमा पराजित भयो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा बलिङमा आएका सन्दीपले असम्भव जस्तै देखिएको जित नेपालको पक्षमा पारे। उनले अन्तिम ओभरमा मात्र ३ रन दिँदै २ विकेट लिए, जसमा अन्तिम बलमा स्टम्पिङसमेत समावेश थियो।
कतारले सानदार सुरुवात गर्दै जितको आधार तयार पारेको थियो। ओपनर इमाल लियानागे र जुबेर अलीले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरे। तर, १०औं ओभरमा सन्दीपले लियानागेलाई ५६ रनमा आउट गर्दै यो साझेदारी तोडे। यो विकेटसँगै सन्दीपले टी-ट्वान्टी र ओडीआईमा गरी आफ्नो २ सय ५०औं अन्तर्राष्ट्रिय विकेटको कोशेढुंगा पनि पूरा गरे।
त्यसपछि नेपालले खेलमा पुनरागमन गर्यो। १४औं ओभरमा दीपेन्द्र सिंह ऐरी र आदिल आलमले लगातार दुई बलमा रनआउट गरेपछि खेलको लय बदलियो। ५२ रन बनाएर खेलिरहेका जुबेर अलीलाई १९औं ओभरमा नन्दन यादवले आउट गरेपछि नेपालको जितको आशा पलाएको थियो। समग्रमा, कतार २० ओभरमा अलआउट हुँदै १४२ रनमा समेटियो।
खेलपछि ‘प्लेयर अफ द म्याच’ घोषित सन्दीपले यो जित टिमको सामूहिक प्रयासको फल भएको बताए। उनले भने, ‘एक सिनियर खेलाडीको नाताले मेरो जिम्मेवारी थियो। पिचमा पछि ब्याटिङ गर्न गाह्रो हुन्छ भन्ने थाहा थियो। हामीले एक-अर्कालाई विश्वास गर्यौं र अन्तिमसम्म लड्यौं। यो जितको श्रेय सम्पूर्ण टिमलाई जान्छ।’
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो। ४८ रनमा ३ विकेट गुमाएको अवस्थामा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए।
रोहितले ४१ बलमा ७ चौका र १ छक्कासहित ५८ रनको कप्तानी पारी खेले। अन्तिममा गुल्सन झाले ८ बलमा १६ रन जोड्दै नेपाललाई २० ओभरमा ९ विकेट गुमाएर १४७ रनको सम्मानजनक स्कोरमा पुर्याएका थिए।
कप्तान रोहित पौडेलले खेलपछिको प्रतिक्रियामा यसलाई अहिलेसम्मकै कठिन जितको संज्ञा दिए। उनले भने, ‘यो जितले टिमको चरित्र देखाउँछ। कतारले खेल लगभग जितिसकेको अवस्थाबाट हामीले पुनरागमन गर्यौं। हाम्रो फिल्डिङ र खेलाडीहरूको ऊर्जा उत्कृष्ट थियो। अब हाम्रो ध्यान ओमानविरुद्धको खेलमा छ, जुन उपाधिका लागि फाइनल जस्तै हुनेछ।’
यो जितसँगै नेपाल र ओमान विश्वकपमा छनोट हुने लगभग पक्का भएको छ। नेपालले आफ्ना बाँकी दुई खेल अब ओमान र सामाओसँग खेल्नेछ, जुन खेलले प्रतियोगिताको विजेताको टुंगो लगाउनेछ।
असोज २८, २०८२ मंगलबार ०७:५३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।