प्रधानमन्त्रीको नाममा चन्दा सङ्कलन, कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्की र कार्यालयको नाम दुरुपयोग गरी चन्दा सङ्कलन गर्ने व्यक्ति वा समूहलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ।
पछिल्लो समय देशका विभिन्न जिल्ला तथा क्षेत्रहरूमा प्रधानमन्त्रीको नाममा विभिन्न परियोजना, कोष र सामाजिक कार्यका लागि भन्दै आर्थिक सहयोग माग भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले प्रधानमन्त्री वा कार्यालयको तर्फबाट कसैलाई पनि कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्न अनुमति नदिइएको स्पष्ट पारेका छन्।
‘यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।
कार्यालयले प्रधानमन्त्रीको नाम प्रयोग गरी कसैले चन्दा मागेको वा सङ्कलन गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन तत्काल नजिकको प्रहरी वा स्थानीय प्रशासनमा खबर गर्न सर्वसाधारणलाई अपिल गरेको छ।
त्यसैगरी, नेपालबाहिर बस्ने नेपालीहरूलाई पनि यस्तो कुनै अनाधिकृत गतिविधिबारे जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली दूतावास/नियोग वा सिधै प्रधानमन्त्री कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ।
सरकारले यस्ता ठगीपूर्ण कार्यप्रति सचेत रहन र कसैको भ्रममा नपरी सहयोग गर्न आग्रह गरेको हो।
असोज २८, २०८२ मंगलबार ०७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।