गण्डकीका मन्त्री विन्दुको छोरा सौगातले गरे पिएसओको दुरुपयोग, थर्काउन क्याफेमा लगे हतियारधारी प्रहरी

काठमाडौं : गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री विन्दु थापाको छोरा सौगात थापाले सरकारले बाबुको सुरक्षाका लागि खटाइको प्रहरीको दुरुपयोग गरेका छन्।
थापाले असोज २५ पोखरा ६ को लेकसाइड खहरेमा रहेको क्याफे अरेबियामा बाबुले मन्त्रीको रूपमा पाएको पिएसओ लिएर गएको खुलेको छ।
घटनाबारे जानकारस्रोतका अनुसार उनी क्याफेमा गएर भदौ २४ को दिन आफ्नो घर जलेकोबारेका आलोचना गरेको भन्दै एक व्यक्तिलाई धम्क्याउन गएका थिए। धम्क्याउन जाँदा उनीसँगै प्रहरीबाट बाबुको सुरक्षामा खटाएको पिएसओ विवेक कार्कीलाई सँगै लिएका गएका हुन्।
सौगात कालो सिसा भएको गाडीमा तीन जनासहित गएका थिए। क्याफे अगाडि गाडी रोकेपछि उनले भदौ २४ मा घर जलेकोबारे किन मलाई दोष दिएको भन्दै विवाद सुरु गरेका थिए।
विवादहुँदा प्रहरी भने नजिकै अलग्गै बसेका थिए। दुबैजनाबीच केही समय विवाद भएपछि उनी पिएसओसहित सोही गाडीमा फर्किएका थिए।
जेन-जी आन्दोलन अगाडि सौगात पनि नेपोबेबी भन्दै आलोचित भएका थिए। उनले सामाजिक सञ्जालमा महँगा ब्रान्डहरूको क्रिसमस ट्री बनाएर खिचेको तस्बिर राखेका थिए। सो तस्बिर निकै भाइरल भयो।
जेन-जी आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरूले उनको घर र होटेल लगायतमा आगो लगाइदिएका थिए। सो घटनापछि उनीसँगै परिचितले ‘तिमीले गर्दा बाबुको बेइज्जत भयो। सबैतिर आगो लाग्यो’ भनेका थिए। उनी त्यसैबाट रिसाएर २५ गते क्याफेमा झगडा गर्न पुगेका थिए।
मन्त्रीसहित सुरक्षा आवश्यक भएकाहरूलाई प्रदेश प्रहरी कार्यालयले व्यक्तिगत सुरक्षा गार्ड खटाउने गरेको छ। व्यक्तिको समेत सुरक्षा चुनौती बढेमा प्रहरी खटिन्छन्। मन्त्री थापाको सुरक्षामा प्रदेश प्रहरी कार्यालय गण्डकीले पिएसओ खटाएको थियो।
थापाको छोरा सौगातको सुरक्षामा प्रहरी खटिएका छन् या छैनन् भन्नेबारे बुझ्दा उनले सुरक्षा नमागेको र कार्यालयबाट समेत उनको सुरक्षामा पिएसओ नखटाइएको खुलेको छ।
उकेराले प्राप्त गरेको जानकारीमा सौगातसँगै गएका पिएसओसँग घटनाबारे कार्यालयले प्रारम्भिक सोधपुछ गरेको छ। सोधपुछमा घर जलेपछि एकै फ्याल्टमा बसेको र खाजा खान जाऊँ भनेकाले मात्र गएको भन्दै कार्कीले आफूले त्यहाँ केही नगरेको र पछि फर्किएको जानकारी दिएका छन्।
गण्डकी प्रदेश प्रहरीका प्रमुख दीनेश आचार्य जुन ब्यक्तीको सुरक्षामा पिएसओ खटाइएको हो सो ब्यक्ती बाहेक अन्यको सुरक्षामा खटिन नपाउने बताउँछन्।
“सौगात थापाको सुरक्षामा पिएसओ खटिएका छैनन्। यदि उनले अन्य व्यक्तिको सुरक्षामा खटिएको पिएसओ लगेका हुन् भने यसबारे अनुसन्धान गर्छौ। दोषी देखिए कारबाही हुन्छ” आचार्यले उकेरासँग भने।
असोज २७, २०८२ सोमबार १९:३१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।