हमासले २० बन्धक रिहा गर्यो, विपिनको न सास न लास

काठमाडौं : युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत इजरायली सेनाको जिम्मा लगायो। इजरायलमा सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणको क्रममा बन्धक बनाइएका २० जनालाई हमासले रिहा गरेको हो।
दुवै पक्षबीचको सम्झौता अनुसार इजरायलले अब २ सय ५० प्यालेस्टिनी कैदी र १ हजार ७ सय भन्दा बढी बन्दी रिहा गर्नुपर्नेछ।
हमासले नेपाली नागरिक विपिन जोशीलाई समेत बन्धक बनाएको थियो। रिहा हुने सूचीमा उनको नाम थिएन। जोशीको अवस्थाबारे अझै यकिन विवरण प्राप्त भएको छैन । उनलाई पनि हमासले २०२३ अक्टोबर ७ मै अपहरण गरेर बन्धक बनाएको थियो ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली सेना (आईडीएफ) का एक अधिकारीले सोमबार बिहान भिडियो कन्फरेन्समार्फत विपिन जीवित नरहेको जानकारी दिएको बताएका थिए।
हमासले बन्धक रिहा गरेपछि रेडक्रसले उनीहरूलाई गाजाका विभिन्न ठाउँबाट इजरायलमा ल्याइएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन्। ट्रम्पले सोमबार नै इजरायली संसदलाई सम्बोधन गर्ने छन्।
असोज २७, २०८२ सोमबार १७:४५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।