तेस्रो अनुसन्धानमा बल्ल अभियुक्त बने कृष्णबहादुर महरा, ८ करोड बिगो र तीन वर्ष कैदको माग

तेस्रो अनुसन्धानमा बल्ल अभियुक्त बने कृष्णबहादुर महरा, ८ करोड बिगो र तीन वर्ष कैदको माग

काठमाडौं :  आइतबार पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा उनी विरुद्ध भन्सार छलेको र संगठित अपराध गरेको आरोपमा अभियोग पत्र दर्ता गरेको हो। अभियोगमा महरासँग ८ करोड ५५ लाख २८ हजार बिगो र ३ वर्षभन्दा बढी कैद सजायको माग गरिएको छ।

२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोपमा दोस्रो पटक उनी पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नै २०८० मा उनलाई सुन तस्करीको अनुसन्धानका लागि पक्राउ गरेर प्रमाण नपुगेको दाबी गर्दै अभियुक्त बनाएको थिएन।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुरानै आरोपमा पुन अनुसन्धान गर्न उनलाई आइतबार पक्राउ गरेको थियो। पक्राउ गरेको एकै दिनमा उनी विरुद्ध अभियोग पत्र दर्ता भएकाले पुरानै अनुसन्धानमा देखिएका तथ्यमा टेकेर प्रहरीले प्रस्तावित राय पठाएको र सोही आधारमा सरकारी वकिलले अभियोग पत्र दर्ता गरेको देखिन्छ।

असोज २७, २०८२ सोमबार १७:१०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।