सात महिनाको गर्भ गुमाएकी सांसद समिताको प्रसव पीडा र खुसी : गर्भवती हुँदा ध्यान गर्थें, भोला रिजालले गीत गाउँदै नानी निकाले

सात महिनाको गर्भ गुमाएकी सांसद समिताको प्रसव पीडा र खुसी : गर्भवती हुँदा ध्यान गर्थें, भोला रिजालले गीत गाउँदै नानी निकाले

समिता खड्गी श्रेष्ठ बागमती प्रदेशसभाकी सांसद हुन्। बागमती प्रदेशअन्तर्गतका सबै जिल्लालाई समेटेर गरिने नीति-निर्माणको काममा उनी संलग्न छिन्। विशेषगरी उनी शिक्षा र स्वास्थ्य क्षेत्रमा रुचि राख्छिन्। उनको यो पहिलो कार्यकाल हो।

सानैदेखि राजनीतिक माहोलमा हुर्किएकी उनको राजनीतिको औपचारिक यात्रा भने २०३६ सालदेखि शुरू भयो। विद्यार्थी राजनीतिदेखि नै सक्रिय उनी निकै निडर र हक्की स्वभावकी छन्। आन्दोलनमै लागेकाले दश महिना जेलमा समेत बिताउनुपर्यो उनले।

घरको पुस्तकालयमा राजनीतिकर्मीहरूको आवतजावतका कारणले पनि उनी राजनीतिक माहोलमा रमाइरहन सकिन्। विद्यार्थी आन्दोलनकै क्रममा कान्तिश्वरी विद्यालयका हेडमास्टर कृष्णमान श्रेष्ठले धाप मारेर ‘यस्ती वीराङ्गना अझै दुई/चार जना भए प्रजातन्त्र पुनर्स्थापना पक्कै हुन्छ’ भनेको कुरा अहिले पनि उनले सम्झिरहेकी छन्।

विद्यालयको प्राचार्यसमेत भएर लामो समय काम गरेकी उनी निकै आध्यात्मिक पनि छन्। बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा मान्यता दिएका कारण अहिले उनी आफैँ पनि नेपाल भाषामा स्नातकोत्तर गरिरहेकी छन्। उनी प्रायः सदनमा नेपाल भाषाबाटै बोल्ने गर्छिन्।

एक सन्तानकी आमासमेत भएकी उनै प्रदेश सांसद समिताले उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफ्नो अनुभव यसरी सुनाइन् :

मेरो मुवाले ११ जना सन्तान जन्माउनुभएकोमा सात जना त उहाँले एकदम राम्रोसँग हुर्काउनुभयो। चार जना दिदीबहिनीमा म तेस्रो हुँ अनि तीन जना दाजुभाइ हुनुहुन्छ।

पहिल्यैदेखि नडराउने स्वभावकी थिएँ। केटी हुँ भनेर लाचार भएर कहिल्यै पनि बसिनँ। सानैदेखि डाक्टर हुन पाउँ, सधैँभरि मेरो आमालाई हेर्न पाउँ र देशका सबै जिल्ला घुमेर सबैको सेवा गर्न पाउँ भन्ने मात्र थियो। त्यसैले म त बिहे पनि नगर्ने भन्ने मान्छे।

हाम्रो समाजमा महिलाप्रति पुरुषले गर्ने दुर्व्यवहार देखेर मलाई बिहे भन्ने शब्द नै मन पर्दैनथ्यो। घरमा पनि छोरी मात्र भयो, छोरा भएन भनेर मेरो आमाले जुन व्यवहार सहन पर्यो, त्यो फिटिक्कै मन पर्दैनथ्यो। हाम्रो समाजमा आमा, श्रीमती र बुहारी चाहिन्छ तर छोरी चाहिँदैन भन्ने सोच छ।

बिहे नै गर्दिनँ भनेर बसेको म फेरि लभ म्यारिज नै गर्न पुगेँ। मैले बिहे गर्दा म ३२ वर्ष भइसकेकी थिएँ। त्यसबेला ढिला बिहे हुनु आफैँमा चुनौतीपूर्ण थियो। जे होस्, मैले बिहेको दबाबचाहिँ घरबाट भोग्नु परेन। मेरो बुवा त समाजसेवी हुनुहुन्थ्यो। उहाँ म सानो छँदै बित्नुभएपछि सबै मुवाले हेर्नुभएको हो।

मुवा पनि डेमोक्रेटिक भएकै कारणले कहिल्यै पनि बिहे गर्नुपर्छ भन्नुभएन। त्यसबेला राजनीति गर्न नै गाह्रो थियो। अझ त्यसमाथि महिला भनेपछि राजनीतिमा पहुँच हुन नै गाह्रो। तर पनि मेरो मुवा र दाजुले धेरै साथ दिनुभयो। मेरो दिदीले पनि बिहे गर्नुभएको थिएन। मैले पनि बिहे नगर्ने भनेका कारणले बहिनीले पनि त्यही भन्ली भनेर पछिचाहिँ ममीले बहिनीको हामीभन्दा छिटो बिहे गरिदिनुभएको थियो।

बिहे गर्छु भनेर मैले बिहे गरेको पनि होइन। हिँड्दा-हिँड्दै साथी भइयो। म पहिल्यैदेखि नै योग, ध्यानमा पनि निकै अघि बढ्ने व्यक्ति हुँ। मेरो केटा मान्छे साथी भनेपछि घरबाट भन्दा पनि बाहिरबाट पो दबाब आएको थियो। त्यसपछि हामीले पनि बिहे गरौँ न त भनेर बिहे गरेका हौँ।

बिहे गरेको केही समयमै म आमा बन्ने भएँ। तर त्यो बच्चा पेटमै बिग्रियो। त्यसबखत म बुद्धिष्ट गुरुबाट दीक्षा लिनका लागि दार्जिलिङमा गएकी थिएँ। तीन महिनाकी गर्भवती थिएँ तर डाक्टरसँग सल्लाह नगरी गएको। बच्चाको पनि दीक्षा लिन्छु भनेर गएको हुँ खासमा। धेरै गुम्बाहरू घुमेँ। डेढ महिनापछि फर्किएँ। त्यतिबेलासम्म केही पनि भएको थिएन।

गर्भावस्थाको सात महिना हुन लाग्दा बच्चा बिग्रियो। शुरूमा त केही भएको थिएन भन्थ्यो डाक्टरले। तर मलाई असाध्यै पेट दुख्थ्यो राति। दिउँसोचाहिँ केही नभएको जस्तो हुन्थ्यो। त्यसैले जँचाउन पनि गएको थिइनँ। पछि रगत पनि देखिएपछि जँचाउन गयौँ। अल्ट्रासाउन्ड पनि गरेर हेर्दा बच्चाको धड्कन नै रोकिसकेको रहेछ। अनि औषधि खाएर बाहिर निकाल्न मनले मानेन। मेरो गुरु श्रीधरशमशेर राणा हुनुहुन्छ, उहाँले डाक्टरले भनेअनुसार गर भन्नुभयो।

स्लाइन दिएपछि बच्चा सजिलैसँग निस्कियो। एकदम सग्लो थियो। नहेर्ने भनेर बसेका थियौँ। तर डाक्टरले कति राम्रो बच्चा भनेपछि हेर्न मन लाग्यो। मैले राम्रोसँग हेरेँ। पछि उसलाई स्वयम्भूमा गाडेर अहिले त्यहाँ गुम्बा बनाइएको छ।

अर्को नानी नभएसम्म मलाई निकै गाह्रो भयो। सम्झेर एकदम रुन्थेँ। उपचारपछि अर्को नानी भयो। अनि मात्र मनमा खुसी भएको थियो मेरो। झन्डै तीन वर्षपछि हाम्रो अर्को सन्तान भएको हो। त्यो तीन वर्ष निकै लामो बितेको जस्तो लाग्छ।

त्यसबेला म स्कुल चलाएर बस्थेँ। राजनीतिमा अगाडि आएर सक्रिय भएको थिइनँ। बच्चा नदेखे पनि आमा भनेपछि अर्कै हुने रहेछ। मलाई निकै नै डिस्टर्ब गर्यो त्यो घटनाले। सकेसम्म आफ्नै काममा व्यस्त हुन्थेँ। पहिला अरू गर्भवती महिला देख्दा अनौठो लाग्थ्यो। जब आफैँ भएँ, त्यसपछि एकदम रमाइलो महसुस गरेँ।

आमाले खाएको पनि सबै बच्चालाई जान्छ रे। आमा खुसी भयो भने बच्चा पनि खुसी हुन्छ रे। आमा भनेको के हो भनेर पछि बुझेँ। आमा हुन गाह्रो भए पनि मैले रमाइलो मानेँ। आफ्नो बच्चालाई कसरी सुरक्षित राख्ने भनेर आफैँ सोचिने रहेछ। प्रायः म मनमनै बच्चासँग गफ गर्थें।

पछिको गर्भावस्था मेरो एकदम सामान्य भयो। प्रायः म ध्यान र योगमै समय बिताउने भएर सकारात्मक भइराख्थेँ। श्रीमानले पनि ‘बच्चा पेटमा आएपछि जे पायो त्यही बोल्न हुँदैन, रिसाउन हुँदैन, झगडा गर्नुहुन्न’ भन्नुहुन्थ्यो। लभ म्यारिज नै भए पनि हामी दुईको तालमेल ठ्याप्पै मिल्दैन।

विभिन्न विचारमा विमर्श, मतभेद भइ नै रहन्थ्यो। तर त्यो नौ महिनामा हामीले झगडा पनि गरेनौँ। त्यही भएर पनि एकदम राम्रोसँग सबै भयो। मेरो तौल पनि खासै बढेन। नानीको पनि राम्रो थियो। एक जना गुरुले पहिले नै छोरी हुन्छ भनेको थियो। त्यसबेला ‘मेरो छोरीले पनि मैले जस्तै धेरै संघर्ष गर्नुपर्ने भयो’ भनेर नराम्रो लागेको थियो।

गर्भवती हुँदा मैले यो खान्नँ, त्यो खान्नँ केही पनि भनिनँ। चना-चटपटेदेखि ममसम्म जे-जे खान मन लाग्छ, मजाले खाएँ। पहिला पनि बच्चा बिग्रिएको भएर हामीले जोखिम लिएनौँ। मभन्दा बढी मेरो श्रीमान् डराउनुभएको थियो। मलाई त ध्यानले पनि असर गर्यो होला। निकै शान्त भइसकेकी थिएँ।

त्यही भएर पनि होला, मेरो बच्चा अहिले शान्त पनि छ। डाक्टरले ‘कम्प्लिकेटेड’ हुन सक्छ भनेको थियो। तर मलाई मनबाट केही पनि डर लागेको थिएन। त्यसबेला हस्पिटलमा पनि सबैले अपरेसन नै गरिदिनु भनेको सुनेर ‘सजिलै’ हुन्छ होला भनी अपरेसन गर्ने भन्दा मलाई पनि डर लागेन। सन् २००२ मा बुवाको मुख हेर्ने अघिल्लो दिन मैले छोरीलाई जन्म दिएँ।

भोला रिजालले गीत गाउँदै मेरो नानी बाहिर निकालेको याद छ। उहाँले ‘समिता, छोरी पाउने कि छोरा ?’ भन्नुभएको थियो। मैले छोरी भनेँ। केही बेरमै नानी रोएको सुनेँ। डाक्टरले मेरो छातीमा राखिदिनुभयो। मैले उसको गाला सुम्सुमाएको थिएँ। ऊ रुन छोडेकी थिई।

पछि पनि सुई लगाउने बेला बाहेक अरू बेला मेरो नानी कहिल्यै पनि रोएन। एकदम शान्त। बच्चा र आमाको पहिलो मिलन त... ओहो! वर्णन गर्न शब्द नै छैन। त्यसैले पनि होला, बच्चालाई केही भयो भने आमालाई सबैभन्दा दुःख लाग्छ भनेको।

नानी जन्मिएपछि मलाई अर्को सन्तान जन्माउँछु भन्ने पनि कहिल्यै लागेन। भगवान् बुद्धको पनि एउटा सन्तान, मलाई पनि एउटा भए पुग्छ भन्ने लाग्यो। श्रीमानले त अर्को पनि चाहिन्छ भन्नुहुन्थ्यो, तर म एउटा मात्र भएर निकै खुसी छु। हाम्रो नेपाल भाषामा एकदम राम्री, पुतली जस्तीलाई ‘कतामरी’ भन्छौँ। मेरो नानी त्यस्तै थिई सानोमा पनि।

एकदम रुन नजान्ने। सधैँ हाँसिरहने भएका कारणले मैले त छोरीको निकनेम पनि ‘मुस्कान’ राखेको थिएँ। एक त ढिला बिहे गरेको, त्यसमाथि ढिला सन्तान जन्माएको भए पनि मलाई केही अप्ठ्यारो भएन। दूध पनि मजाले आयो। घरमा, माइतीमा मलाई सुत्केरी स्याहारको कमी पनि हुन दिएन। निकै माया गर्नुभएको थियो।

छोरी अहिले केयूमा इन्जिनियरिङ पढिरहेकी छे। मेरो त साथीजस्तै छे। यो गर्नु, त्यो गर्नु भनेर मलाई सुझाव दिन सक्ने भइसकेकी छे। हामीले उसलाई कुनै पनि दबाब र लिमिटमा राखेका छैनौँ। बिहे नै नगर्ने भनेर बसेको म, यदि मैले बिहे नगरेको भए अहिले जुन अनुभव गरिराखेको छु, त्यसबाट वञ्चित हुन्थेँ होला।

साँच्चै नै एउटी महिला आमा त हुनैपर्ने रहेछ। यो अनुभव एकदम मिठासपूर्ण छ। आमा भएपछि मैले आमालाई झन् राम्रोसँग बुझेँ। तर पछि आफूले चाहेजस्तो धेरै माया र सेवा गर्न पाइनँ। त्यसको अभाव सधैँ खड्किन्छ।

असोज २७, २०८२ सोमबार १४:१४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।