बर्खापछि मेलम्ची आयोजना पुन: सुचारू, अब तीन दिन बिराएर धारामा पानी आउने

बर्खापछि मेलम्ची आयोजना पुन: सुचारू, अब तीन दिन बिराएर धारामा पानी आउने

काठमाडौं : वर्षायाममा बाढीको जोखिमका कारण बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा पुनः वितरण शुरू गरिएको छ। हाल दैनिक १७ करोड लिटरभन्दा बढी पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आइपुगेसँगै उपत्यकाको खानेपानी आपूर्तिमा ठूलो राहत मिलेको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सुधारिएको तालिकाअनुसार पानी वितरण शुरू गरेको जनाएको छ। केयुकेएलका कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार, ‘विगतमा ६ दिनमा एक पटक पानी आउने गरेका धाराहरूमा अब तीन दिन बिराएर पानी आउनेछ।’

गत असार १० गते मेलम्ची नदीमा बाढीको जोखिम बढेपछि आयोजनाको सुरुङ बन्द गरिएको थियो। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले वर्षाले क्षति पुर्याएका संरचनाहरूको मर्मत र नदीमा पानीको बहाब घटेसँगै काठमाडौंमा पानी पठाउन सम्भव भएको बताए।

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग भए पनि मेलम्ची बन्द हुँदा विभिन्न स्रोतबाट मुस्किलले दैनिक १३ देखि १४ करोड लिटर मात्र आपूर्ति हुँदै आएको थियो। मेलम्चीको पानी थपिएसँगै अब उपत्यकाको कुल आपूर्ति करिब ३१ करोड लिटर पुगेको छ।

वि.सं. २०७८ असार १ गते मेलम्ची खोलामा आएको विनाशकारी बाढीले आयोजनाको मुहान (हेडवर्क्स) पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि आयोजनाले स्थायी समाधान पाउन सकेको छैन।

त्यसयता हरेक वर्ष वर्षायाममा बाढीको जोखिम बढेपछि सुरुङ बन्द गर्ने र हिउँद लागेपछि अस्थायी संरचना बनाएर पानी ल्याउने गरिएको छ, जसका कारण उपत्यकावासीले बाह्रै महिना मेलम्चीको पानी पाउन सकेका छैनन्।

असोज २७, २०८२ सोमबार १३:३१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।