जेन-जी आन्दोलनमा सहभागी ‘टिओबी’ समूहका तेन्जिङ दावा पक्राउ

जेन-जी आन्दोलनमा सहभागी ‘टिओबी’ समूहका तेन्जिङ दावा पक्राउ

काठमाडौं : जेन-जी आन्दोलनमा ‘टिब्बेटियन ओरिजिनल ब्लड’ (टिओबी) लेखिएको ज्याकेट लगाएर सहभागी भएका बौद्धका तेन्जिङ दावा लामा पक्राउ परेका छन्।

आन्दोलनमा बाइकर्स समूहको नेतृत्व गर्दै आतङ्क सिर्जना गरेको आरोपमा काठमाडौं प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको हो।

उनले करिब डेढ सय जनाको समूहलाई नेतृत्व गरेको र प्रदर्शनका क्रममा बाइक पड्काउँदै माहौललाई आतङ्कित बनाएको आरोप छ।

तिब्बती मूलकी आमा र नेपाली बुबाका सन्तान लामा ट्याटु आर्टिस्ट तथा बाइकर्स समूहका सदस्य हुन्। उनको पेस्तोल बोकेको तस्बिरसमेत सामाजिक सञ्जालमा भाइरल भएको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले हतियार लगायतका विषयमा दावामाथि अनुसन्धान भइरहेको जानकारी दिए।

‘अनुसन्धानका लागि दावा प्रहरी नियन्त्रणमा छन्। उनको गतिविधिबारे अनुसन्धान जारी छ। कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं’, एसएसपी थापाले भने।

भदौ २३ को प्रदर्शनमा सहभागी जेन-जी युवाहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनमा कालो टिसर्ट लगाएका बाइकर्सहरू प्रवेश गरेपछि माहोल बिग्रिएको बताएका छन्।

ती बाइकर्सहरूले हेभी बाइकको साइलेन्सर पड्काउँदै प्रदर्शनलाई आतङ्कित बनाएका थिए।

उक्त समूह ‘टिओबी’ रहेकोबारे उकेराले आइतबार समाचार प्रकाशित गरेको थियो। टिओबीमा र्यापर हाकिम समेत संलग्न रहेको खुलेको छ।

जेन-जी आन्दोलनमा सहभागी अन्यले पनि ‘टिओबी’ लेखेको टिसर्ट लगाएका थिए, जसमध्ये एक टिसर्टमा ‘हाकिम’ लेखिएको थियो। ‘टिब्बेटियन ओरिजिनल ब्लड’ नलेखिए पनि प्रयोग गरिएको चिह्न भने एउटै थियो।

असोज २७, २०८२ सोमबार १२:५०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।