‘हरेक बोतलमा १ रुपैयाँ राष्ट्रको लागि’ अभियानसहित केडिया अर्गनाइजेसनको ‘पूर्ण वाटर’

‘हरेक बोतलमा १ रुपैयाँ राष्ट्रको लागि’ अभियानसहित केडिया अर्गनाइजेसनको ‘पूर्ण वाटर’

काठमाडौं : १०९ वर्ष पुरानो  नेपालको व्यावसायिक घराना केडिया अर्गनाइजेसनले प्रशोधित पिउने पानी ‘पूर्ण वाटर’ ब्रान्ड सार्वजनिक गरेको छ।

‘पूर्ण पानी, स्वस्थ जिन्दगानी’ को नारासहित बजारमा आएको यो ब्रान्डले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै ‘हरेक बोतलको खरिदमा १ रुपैयाँ राष्ट्रको लागि’ नामक अभियान पनि शुरू गरेको छ।

एक शताब्दीभन्दा लामो समयदेखि विभिन्न उद्योगहरूमा गुणस्तर र विश्वसनीयताको पर्याय बनेको केडिया अर्गनाइजेसनले अब आफ्नो विरासतलाई प्रशोधित पानीको क्षेत्रमा ल्याएको हो। पूर्ण वाटरले प्रविधि, हेरचाह र परम्पराको उत्कृष्ट मिश्रणलाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ।

हरेक थोपा पानीलाई ७-चरणको शुद्धीकरण प्रक्रियाबाट प्रशोधन गरिने भएकाले गुणस्तर र स्वादलाई अतुलनीय बनाउने कम्पनीको दाबी छ। पानीमा रहेका अनावश्यक अशुद्धताहरू हटाएर प्राकृतिक खनिजहरूलाई कायम राख्दै पूर्ण वाटरले शुद्ध र ताजा पानीको ग्यारेन्टी दिने कम्पनीले जनाएको छ।

‘पूर्ण वाटर’ले घरपरिवारका लागि सुरक्षा र शुद्धताको प्रतीकको रूपमा काम गर्नेछ भने होटेल, रेस्टुरेन्ट र क्याफेहरूका लागि ग्राहकको अनुभवलाई थप स्तरीय बनाउने दाबी कम्पनीको छ।

हालै सुरू गरिएको ‘रु. १ अभियान’ अन्तर्गत, उपभोक्ताले खरिद गर्ने हरेक बोतलबाट १ रुपैयाँ सामाजिक योगदानका लागि छुट्याइनेछ। कम्पनीका अनुसार यो रकम स्वच्छ, स्वस्थ र दिगो नेपाल निर्माणमा सहयोग गर्ने विभिन्न पहलहरूमा खर्च गरिनेछ।

कम्पनीले भनेको छ, ‘वास्तविक शुद्धता पानीमा मात्र नभई कर्ममा पनि हुनुपर्छ भन्ने हाम्रो विश्वास हो। पूर्ण वाटरको छनोट गरेर उपभोक्ताले आफ्नो स्वास्थ्यको मात्र ख्याल नगरी राष्ट्रको प्रगतिमा पनि योगदान दिइरहेका छन्।’

असोज २७, २०८२ सोमबार १२:३९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।