‘प्रचण्ड निवासबाट २ करोड निकालियो’ भन्ने अभिव्यक्ति दिने पूर्वएआईजी सुवेदीविरुद्ध माओवादीको साइबर उजुरी

‘प्रचण्ड निवासबाट २ करोड निकालियो’ भन्ने अभिव्यक्ति दिने पूर्वएआईजी सुवेदीविरुद्ध माओवादीको साइबर उजुरी

काठमाडौं : माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको कसुरमा उजुरी दर्ता गरेको छ।

एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा सुवेदीले ‘जेनजी आन्दोलन हुनुभन्दा दुई दिनअघि अध्यक्ष प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको’ भनी दिएको अभिव्यक्तिका आधारमा माओवादीले कानुनी कारबाहीको माग गरेको हो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यले आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउँदै अनुसन्धानको माग गरेका हुन्।

उक्त अभिव्यक्तिको खण्डन गर्दै प्रचण्डको सचिवालयले एक विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ। सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिँदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदी विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ।’

सचिवालयले डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएको भन्दै त्यसबारे आवश्यक अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न माग गरेको छ।

माओवादी केन्द्रले बिहीबार नै एक विज्ञप्ति जारी गरी सुवेदीको अभिव्यक्तिको खण्डन गरेको थियो। सोही क्रममा आइतबार औपचारिक रूपमा कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको हो।

असोज २७, २०८२ सोमबार १२:०७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।