इजरायली अधिकारीले नेपाली राजदूतलाई भने- ‘विपिन इज नो मोर’

इजरायली अधिकारीले नेपाली राजदूतलाई भने- ‘विपिन इज नो मोर’

काठमाडौं : इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्।

२०२३ अक्टोबर ७ देखि हमासको कब्जामा रहेका विपिनको अवस्थाबारे लामो अनिश्चिततापछि इजरायली सेनाले उनको मृत्यु भएको जानकारी परिवार र नेपाली दूतावासलाई गराएको हो।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली सेना (आईडीएफ) का एक अधिकारीले आज बिहान स्थानीय समयअनुसार साढे ७ बजे भिडियो कन्फरेन्समार्फत यो औपचारिक जानकारी दिएका हुन्।

उक्त कन्फरेन्समा राजदूत पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका दाजु किशोर जोशी र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरू सहभागी थिए। राजदूत पण्डितका अनुसार विपिनको शवको अवस्थाबारे पनि कुनै यकिन जानकारी जानकारी इजरायली अधिकारीले गराएका छन्।

राजदूत पण्डितले भने, ‘आईडीएफका अधिकारीले हामीलाई ‘विपिन इज नो मोर’ भने।’

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत कञ्चनपुरका विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। हमासले इजरायलको किबुज क्षेत्रमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमासका लडाकुहरूले अपहरण गरी आफूसँगै लगेका थिए।

अपहरणपछि हमासले गत मंसिरमा एक भिडियो सार्वजनिक गरेको थियो, जसमा विपिन जीवित रहेको देखिएको थियो। त्यसयता उनको अवस्था अज्ञात थियो।

विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयास जारी राखेको थियो भने उनको अवस्था बुझ्न र रिहाइको पहल गर्न विपिनकी आमा र बहिनी केही समयअघि इजरायल पनि पुगेका थिए। हाल उनीहरू अमेरिकामा छन्।

असोज २७, २०८२ सोमबार ११:४६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।