चार आना माग्दै त्रिवि छिरेको राधास्वामी सत्संगद्वारा १५ रोपनी जग्गा कब्जा, आफ्नो नाममा ल्याइदिन प्रधानमन्त्रीलाई ‘बिन्तीपत्र’

काठमाडौं : शुरूमा जम्मा चार आना जग्गा मागेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा प्रवेश गरेको ‘राधास्वामी सत्संग व्यास नेपाल’ नामक धार्मिक संस्थाले त्यहाँको १५ रोपनीभन्दा बढी जग्गा हडपेको खुलेको छ।
त्रिविको जग्गा खोजबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदनमा उक्त संस्थाले बिना कुनै स्वीकृति वा सम्झौता त्रिविको जग्गा गैरकानुनी रूपमा कब्जा गरेको निष्कर्ष निकालेको हो।
प्रतिवेदनअनुसार, त्रिविकै स्वामित्वको जग्गालाई संस्थाले ‘नदी उकास’ क्षेत्र भएको दाबी गर्दै गैरकानुनी रूपमा भोगचलन गरिरहेको हो। संस्थाले उक्त जग्गा आफ्नो नाममा दर्ता गराउन प्रधानमन्त्रीसम्म निवेदन दिएको र मालपोत तथा नापी कार्यालयमा प्रक्रियासमेत अघि बढाएको प्रतिवेदनमा उल्लेख छ।
त्रिवि प्रशासनले पटक-पटक जग्गा खाली गर्न अनुरोध गरे पनि संस्थाले अटेर गर्दै आएको पाइएको छ।
कसरी भयो कब्जा?
छानबिन समितिको प्रतिवेदन अनुसार, संस्थाले वि.सं. २०४७/४८ सालतिर त्रिविको बागमती नदी किनारतर्फको जग्गामा आँखा लगाएको थियो। शुरूमा चार आना जग्गा मागेको संस्थाले पछि बागमती नदीले छाडेको ‘नदी उकास’ क्षेत्र भन्दै करिब १५ रोपनी जग्गामा आफ्नो भौतिक संरचना विस्तार गरेको देखिन्छ।
वि.सं. २०५० सालतिर संस्थाले त्रिविसँग उक्त जग्गा सशर्त भोगचलन गर्न स्वीकृतिका लागि अनुरोध गरे पनि त्रिविले त्यसलाई स्वीकृति दिएको थिएन।
स्वीकृति बिना नै भोगचलन गरिरहेको संस्थाले पछि त्रिविलाई बाइपास गर्दै सिधै प्रधानमन्त्रीलाई निवेदन दिएर जग्गा आफ्नो नाममा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको थियो। तर, आजसम्म उक्त जग्गाको स्वामित्व संस्थामा गएको वा भोगचलनको कानुनी स्वीकृति पाएको देखिँदैन।
प्रतिवेदनमा प्रधानमन्त्रीलाई निवेदन दिएको उल्लेख गरिए पनि त्यस्तो निवेदन कहिले दिएको र कुन प्रधानमन्त्रीको पालामा दिइएको भनेर उल्लेख गरिएको छैन।
समितिले आफ्नो प्रतिवेदनमा राधास्वामी सत्संगको कब्जालाई पूर्णतः गैरकानुनी ठहर गरेको छ। साथै उक्त जग्गा वि.सं. २०१३ सालमा त्रिविका लागि अधिग्रहण गरिएको र त्यसको पूर्वी सिमाना बागमती नदी भएकोले ‘नदी उकास’ भनिएको क्षेत्र पनि त्रिविकै स्वामित्वभित्र पर्ने निष्कर्ष निकालेको छ।
प्रतिवेदनले मालपोत ऐन, २०३४ को दफा २४ र मुलुकी देवानी संहिता, २०७४ को प्रावधान उल्लेख गर्दै सरकारी वा सार्वजनिक जग्गा कुनै पनि व्यक्ति वा संस्थाको नाममा दर्ता गर्न नमिल्ने र यदि त्यसो गरिएमा स्वतः बदर हुने स्पष्ट पारेको छ।
त्यसैगरी संस्थाले ‘फिल्डबुकको विरह महलमा संस्थाको नाम उल्लेख गरेकै आधारमा नक्सा सिट तयार गरी जग्गाधनी प्रमाणपूर्जा बनाउन खोज्नु’ गैरकानुनी हर्कत भएको ठहर गर्दै समितिले यस्तो गैरकानुनी कार्यमा संलग्नमाथि थप छानबिन गरी कारबाही अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको छ।
के हो राधास्वामी सत्संग?
राधास्वामी सत्संग व्यास भारतमा केन्द्रीय कार्यालय रहेको एक आध्यात्मिक तथा धार्मिक संस्था हो। सन् १८९१ मा स्थापित यो संस्था विश्वका ९० भन्दा बढी देशमा फैलिएको छ। नेपालमा पनि यसले सामाजिक तथा धार्मिक गतिविधि सञ्चालन गर्दै आएको छ।
कोभिड महामारीका बेला निःशुल्क खाना वितरण र क्वारेन्टिन सञ्चालन गरेर यसले चर्चा कमाएको थियो। पछिल्लो समय भूमि सम्बन्धी ऐन संशोधनको बहसमा पनि आफ्नो पक्षमा लबिङ गर्न संस्था सक्रिय रहेको बताइन्छ। देशभर विभिन्न स्थानमा हदबन्दीभन्दा बढी जग्गा भोगचलन गरिरहेको आरोप पनि संस्थामाथि लाग्दै आएको छ।
छानबिन समितिको प्रतिवेदनले राधास्वामी सत्संगद्वारा त्रिविको जग्गामा भएको कब्जालाई गैरकानुनी ठहर गर्दै थप कारबाहीका लागि मार्गप्रशस्त गरेको छ।
असोज २७, २०८२ सोमबार १०:२१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।