जेनजी आन्दोलनमा भागेका पाँच हजार ५ सय कैदी अझै फरार

काठमाडौं : भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका १४ हजार ५५५ कैदीबन्दीमध्ये ५ हजार ५४७ जना अझै फरार छन्।
कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ९ हजार ८ जना भने कारागारमा फिर्ता भइसकेका छन् । विभागले फरार कैदीबन्दीलाई फिर्ता ल्याउने प्रयासलाई थप प्रभावकारी बनाइने जनाएको छ।
आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उनीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय गरेको हो।
यसका लागि विभागले फरार कैदीबन्दीको नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत सुरक्षा निकाय, निर्वाचन आयोग, अध्यागमन, राहदानी, यातायात, भूमि व्यवस्थापन जस्ता प्रमुख सरकारी निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाउने भएको छ।
ती निकायमा कुनै पनि सार्वजनिक सेवा लिन आएको खण्डमा उनीहरूलाई तत्काल पक्राउ गरिनेछ।
थप सूचना र सार्वजनिक सचेतनाका लागि फरार कैदीबन्दीको सम्पूर्ण विवरण विभागको वेबसाइटमा पनि प्रकाशन गरिने विभागले जनाएको छ ।
असोज २७, २०८२ सोमबार ०९:४३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।