खातामा मोबाइल एपबाटै इमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं : एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खातामा आफ्नो इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।
ग्राहकहरूलाई बैंकिङ कारोबार तथा सूचना प्राप्त गर्न सहज बनाउने उद्देश्यले बैंकले यस्तो आग्रह गरेको हो। बैंकले जारी गरेको विज्ञप्तिअनुसार, ग्राहकहरूले घरबाटै विभिन्न डिजिटल माध्यम प्रयोग गरेर आफ्नो इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्।
यसका लागि बैंकको मोबाइल बैंकिङ एप एनआईसी एसिया मोबैंकमा रहेको ‘माइ प्रोफाइल’ सेक्सनमा गई ‘चेन्ज ईमेल’ विकल्प छनोट गर्न सकिन्छ।
त्यसैगरी, बैंकको वेबसाइटमा उपलब्ध भिडियो केवाईसी सेवामार्फत पनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्न सक्नेछन्।
डिजिटल माध्यम प्रयोग गर्न असहज हुने ग्राहकहरूका लागि आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयमा उपस्थित भएर पनि इमेल ठेगाना अद्यावधिक गराउन सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
खातामा इमेल अद्यावधिक गर्दा ग्राहकहरूले आफ्नो खाताको विवरण (स्टेटमेन्ट), बैंकिङ कारोबारका सूचना, बैंकका नयाँ योजना तथा सुरक्षासम्बन्धी जानकारीहरू नियमित रूपमा प्राप्त गर्न सक्छन्।
यससम्बन्धी थप जानकारी आवश्यक परेमा बैंकको ग्राहक सम्पर्क केन्द्रको फोन नम्बर १६६०-०१-७७७७१ वा ०१-५९७०१०१ मा सम्पर्क गर्न सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिए।
असोज २७, २०८२ सोमबार ०९:३२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।