विद्यालय भवनको ठेक्का नक्कली पत्रिका छापेर भ्रष्टाचार, तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र एक विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विद्यालय भवन निर्माणको ठेक्कासम्बन्धी सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित नगरी नक्कली पत्रिका खडा गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभरटाइजिङ्ग एजेन्सी प्रालिका सञ्चालक अजित कुमार कर्णविरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
आयोगका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा माधवनारायण नगरपालिका-३ स्थित देवी माध्यमिक विद्यालयको भवन निर्माणको ठेक्का सूचना लुकाउने बदनियतले उनीहरूको मिलेमतो भएको थियो। सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रियस्तरको पत्रिकामा छाप्नुपर्ने बोलपत्र आह्वान र स्वीकृतिको सूचना उनीहरूले छापेनन्।
बरु, सूचना छापेको देखाउन ‘सिटी पोष्ट राष्ट्रिय दैनिक’ नामको नक्कली पत्रिकाको सीमित प्रति मात्र छपाइ गरी सोही आधारमा भुक्तानी दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। प्रेस काउन्सिल नेपालले समेत उक्त मितिमा पत्रिकाको अभिलेख नभएको पुष्टि गरेपछि उनीहरूको जालसाजी खुलेको हो।
यसरी नक्कली कागजातका आधारमा विज्ञापन एजेन्सीलाई २ लाख ५७ हजार ९७० भुक्तानी दिई नगरपालिकालाई हानि पुर्याएको अख्तियारको दाबी छ।
आयोगले कायस्थ र यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) अनुसार कैद र बिगोबमोजिम जरिवानाको माग गरेको छ। विज्ञापन एजेन्सी सञ्चालक कर्णलाई भने मतियारको भूमिका खेलेको भन्दै मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ।
असोज २७, २०८२ सोमबार ०९:११:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।