धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक गम्भीर घाइते

धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक गम्भीर घाइते

धनकुटा : धनकुटा नगरपालिका-९ स्थित पाँच गोलाईमा गएराति ट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। धनकुटाबाट मुलघाटतर्फ जाँदै गरेको मिनी ट्रक ब्रेक फेल भएर सडकबाट करिब ३ सय मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार दुर्घटनामा ट्रक चालक उदयपुरगढी गाउँपालिका-५ का २६ वर्षीय नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटारका २० वर्षीय दिनेश कार्की गम्भीर घाइते भएका छन्।

मध्यराति करिब २ बजे प्र ३-०१-००३ क ६९०६ नम्बरको उक्त ट्रक दुर्घटनामा परेको थियो।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस, मुलघाट र प्रहरी चौकी मुलघाटबाट खटिएको संयुक्त टोलीले घाइतेहरूको उद्धार गरेको थियो।

उद्धार गरिएका दुवै जनालाई बिहान करिब साढे ४ बजे एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

असोज २७, २०८२ सोमबार ०९:०१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।