अपराजित यात्रा कायम राख्न नेपाल आज कतारसँग भिड्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया र ईएपी छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ।
ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ।
लगातार चौथो जित निकाल्दै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ। यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो।
समूह चरणमा पनि नेपाल अपराजित रहँदै कुवेतलाई ५८ रनले र जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो।
यता, कतार भने समूह चरणमा मलेसियालाई ८ विकेटले पराजित गर्दै र यूएईसँग हार बेहोर्दै सुपर सिक्समा पुगेको हो। सुपर सिक्सको पहिलो खेलमा भने कतार ओमानसँग ३४ रनले पराजित भएको थियो।
सुपर सिक्सको अंक तालिकामा अपराजित नेपाल ४ अंकसहित बलियो अवस्थामा छ भने कतार अंकविहीन छ। यी दुई टोलीबीच अहिलेसम्म भएका तीन टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले २ तथा कतारले १ खेल जितेको छ।
प्रतियोगिताको सुपर सिक्स चरणको समाप्तिपछि शीर्ष ३ स्थानमा रहने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन्।
नेपालले यो खेलपछि बुधबार ओमान र सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने तालिका छ।
असोज २७, २०८२ सोमबार ०८:४९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।