बाढीले बगाएपछि फेमे खोलामा डाइभर्सन निर्माण, सोमबारसम्म यातायात सुचारु गर्ने लक्ष्य
पाँचथर : पाँचथरको फिदिम-फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध यातायात अस्थायी डाइभर्सन निर्माण गरी सुचारु गर्ने प्रयास भइरहेको छ।
गत असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि पूर्वाधार विकास कार्यालय, पाँचथरले सोमबारसम्ममा काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिएको छ।
कार्यालयका इन्जिनियर मुकेश शाहका अनुसार फिदिम नगरपालिका-१ र ११ को सिमानामा पर्ने खोलामा २० वटा ह्युमपाइप राखेर डाइभर्सन बनाइँदैछ।
सडक अवरुद्ध हुँदा फिदिम नगरपालिकाका १० देखि १३ नम्बर वडा तथा फालेलुङ गाउँपालिकाका ३ देखि ८ नम्बर वडाका बासिन्दा सदरमुकामसँगको सीधा सम्पर्कबाट वञ्चित भएका छन्।
यो खोलामा हरेक वर्ष यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। गत वर्ष असोज १२ गतेको बाढीले सडक पुल बगाएपछि अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको थियो।
गत जेठमा बनाइएको स्थायी प्रकृतिको डाइभर्सन पनि यसपटकको बाढीले बगाएको हो। यहाँ बेलिब्रिज जडान प्रक्रिया अघि बढे पनि बजेट अभावले काम रोकिएको छ।
हाल खोलाको वारिपारि सवारीसाधन सञ्चालनमा छन् भने यात्रुहरू करिब १५ मिनेट हिँडेर खोला तर्न बाध्य छन्। आवतजावत सहज बनाउन फिदिमस्थित नेपाली सेनाको वीरदल गणले अस्थायी फड्के निर्माण गरिदिएको छ।
तर, स्थानीय उत्पादन बजार पुर्याउन, सामग्री ढुवानी गर्न तथा बिरामी र अशक्तलाई खोला पार गराउन निकै समस्या भएको फिदिम-११ का स्थानीय लोकबहादुर बुढाथोकी बताउँछन्।
असोज २७, २०८२ सोमबार ०८:००:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।