मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने, वैकल्पिक मार्गको तयारी

इलाम : गत असोज १८ गतेको भीषण वर्षापछिको पहिरोले अवरुद्ध मेची राजमार्गको इलाम-राजदुवाली खण्ड तत्काल सञ्चालनमा नआउने भएको छ।
जटिल भू-संरचना, निरन्तरको भूस्खलन र सडक भासिने समस्याका कारण नौ दिनदेखि बन्द राजमार्ग खुलाउने प्रयास सफल हुन नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।
‘सडक खुलाउने प्रयास निरन्तर भइरहेको छ, तर भू-संरचनाको जटिलताका कारण तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन’, प्रजिअ नेपालले भनिन्।
राजमार्ग अवरुद्ध हुँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु मर्कामा परेका छन्। समस्या समाधानका लागि वैकल्पिक मार्ग पहिचान गरी साना सवारीका लागि खुलाउने तयारी भइरहेको छ।
तत्कालका लागि तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार-फिक्कल हुँदै साना सवारी सञ्चालन गरिए पनि सोमबारदेखि तिल्केनी-सिमलगो खण्डलाई सञ्चालनमा ल्याइनेछ । त्यसका लागि जोगमाई खोलामा सडक डिभिजनले ह्युमपाइप राखेर डाइभर्सन निर्माण गरिरहेको छ।
यद्यपि, साँघुरो र तीव्र मोड भएका कारण ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान हुन सकेको छैन।
सडक डिभिजन कार्यालय, इलामले तत्कालका लागि राजदुवाली खण्डको पुनर्निर्माण कार्य स्थगन गरेको छ। सूचना अधिकारी इन्जिनियर अर्जुन घिमिरेले हाल सम्पूर्ण स्रोतसाधन र जनशक्ति वैकल्पिक मार्ग खुलाउनमा केन्द्रित गरिएको र त्यो काम सकिएपछि मात्र राजदुवालीमा फर्किने बताए।
यसैबीच, इलाम सदरमुकामलाई झापाको विर्तामोडसँग जोड्ने छोटो दूरीको मेची करिडोरअन्तर्गत पुवाखोलामा स्थानीयले काठको अस्थायी पुल बनाएका छन्। गत असोज १८ गतेकै बाढीले इलाम नगरपालिका-९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने बेलिब्रिज बगाएपछि आवतजावत ठप्प भएको थियो।
स्थानीय युवा रोशन राईको अगुवाइमा स्थानीयवासी र नेपाली सेनाले पाँच दिन श्रमदान गरेर ५० फुट लामो र आठ फुट चौडा मोटरेबल काठेपुल निर्माण गरेका हुन्। पुल बनेपछि सदरमुकामसँग टुटेको सडक सञ्जाल पुनः जोडिएको छ।
असोज २७, २०८२ सोमबार ०७:२८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।