दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको अविस्मरणीय जित, रोमाञ्चक ‘एल क्लासिको’मा युएई १ रनले स्तब्ध

काठमाडौं : एसोसिएट क्रिकेटको ‘एल क्लासिको’ मानिने नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको भिडन्तले त्यसलाई पुनः एकपटक सार्थक साबित गर्यो। आईसीसी पुरुष टी२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्स चरणको आफ्नो दोस्रो खेलमा नेपालले युएईमाथि अविस्मरणीय १ रनको जित निकाल्यो।
हारको संघारबाट पुनरागमन गरी ‘कार्डियाक किड्स’को छविलाई जीवन्त राख्दै नेपालले अन्तिम बलसम्म चलेको नाटकीय खेलमा विजय हासिल गर्यो। यो जितको नायक बने अलराउन्डर दीपेन्द्र सिंह ऐरी। जसले ब्याटले निराश पारे पनि बलिङ र फिल्डिङमा जादुमयी प्रदर्शन गर्दै नेपाललाई महत्त्वपूर्ण २ अंक दिलाए।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १४० रनको औसत स्कोर खडा गरेको थियो। जवाफमा १४१ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो।
यो जितसँगै नेपालले सुपर सिक्समा ४ अंक जोडेको छ र आयोजक ओमानसँग बराबरी गरेको छ। यसले नेपालको आगामी वर्ष हुने टि-ट्वान्टी विश्वकपमा छनोट हुने सम्भावनालाई थप बलियो बनाएको छ।
आसिफको अर्धशतक र गुल्शनको महत्वपूर्ण योगदान
कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेपछि नेपालले शानदार शुरूवात गरेको थियो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गर्दै पावरप्लेमा ४५ रन जोडे। २८ रन बनाएका कुशल आउट भएपछि क्रिजमा आएका कप्तान रोहितले आसिफसँग मिलेर ३९ रनको साझेदारी गरे।
तर, रोहित २० रनमा आउट भएपछि नेपालको रन गति केही सुस्त भयो। एकातर्फबाट विकेट जोगाइरहेका आसिफले ४५ बलमा आफ्नो अर्धशतक पूरा गरे। उनी ४७ बलमा ४ चौका र १ छक्कासहित ५१ रन बनाएर आउट हुँदा नेपाल १६ ओभरमा १०३/३ को अवस्थामा थियो।
अन्तिम ओभरहरूमा नेपालले संघर्ष गर्यो। दीपेन्द्र सिंह ऐरी १ रनमै पेभिलियन फर्किए। तर, अन्तिममा गुल्शन झाले मात्र ५ बलमा २ चौका र १ छक्कासहित १४ रनको विस्फोटक पारी खेल्दै नेपाललाई कमजोर स्कोरबाट जोगाए। उनको यही योगदानले नेपाललाई १४० रनको सम्मानजनक स्कोरसम्म पुर्यायो। युएईका ६ जना बलरले समान १-१ विकेट लिए।
सराफुको अर्धशतक र नेपालको अविश्वसनीय पुनरागमन
१४१ रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले शुरूमै झट्का दियो। अनुभवी बलर सोमपाल कामीले दोस्रो ओभरमै युएईका खतरनाक कप्तान तथा ओपनर मुहम्मद वासिमलाई १ रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए। खेलपछि सोमपालले यो पूर्वनिर्धारित योजना अनुसारकै सफलता भएको बताए।
तर, त्यसपछि ओपनर जोनाथन फिगी र अलिसान सराफुले दोस्रो विकेटका लागि ८१ रनको विशाल साझेदारी गर्दै खेल युएईको पक्षमा पारे। सराफुले आक्रामक ब्याटिङ गर्दै ३४ बलमै अर्धशतक पूरा गरे। युएई ११.१ ओभरमा ८३/१ को बलियो अवस्थामा पुग्दा नेपाली समर्थक निराश देखिन्थे।
तर, खेलको पासा पल्टाउने जिम्मा लिए दीपेन्द्र सिंह ऐरीले। उनले १२औं ओभरमा १९ रन बनाएका फिगीलाई आउट गरेर यो साझेदारी तोडे। त्यसपछि आफ्नो अर्को ओभरमा उनले विस्फोटक ब्याटिङ गरिरहेका सराफु (५८ रन) लाई बोल्ड गर्दै नेपाललाई खेलमा फर्काए। लगत्तै गुल्शन झाले हर्षित कौशिकलाई आउट गरे।
१६औं ओभरमा खेल पूर्ण रूपमा नेपालको पक्षमा ढल्कियो। सन्दीप लामिछानेको बलिङमा दीपेन्द्रले उत्कृष्ट फिल्डिङ गर्दै राहुल चोपरालाई रनआउट गरे भने लगत्तै अर्को बलमा सन्दीपले बसिल हमिदलाई क्लिन बोल्ड गरे। एक समय ८३/१ को अवस्थामा रहेको युएई ९६ रन बनाउँदा ६ विकेट गुमाएर दबाबमा आयो।
अन्तिम ओभरको सनसनी, जहाँ दीपेन्द्र फेरि एकपटक ‘टाइगर’ बने
अन्तिम ओभरमा युएईलाई जितका लागि १० रन आवश्यक थियो र उसका ४ विकेट बाँकी थिए। कप्तान रोहितले बल दीपेन्द्रलाई थमाए। त्यसपछिका ६ बल कुनै फिल्मको क्लाइमेक्सभन्दा कम थिएनन्।
पहिलो बलमा दीपेन्द्रले मात्र एक रन दिए। दोस्रो बल डट भयो। तेस्रो बलमा ध्रुव परासरले छक्का प्रहार गरे। युएई जितको नजिक पुग्यो। अब ३ बलमा ३ रन चाहियो। चौथो बलमा ठूलो सट खेल्ने प्रयासमा परासर (३२ रन) सन्दीप जोराद्वारा क्याच आउट भए।
पाँचौं बल युएईका लागि दुर्भाग्यपूर्ण सावित भयो। ब्याट्सम्यानले एक रन पूरा गरे पनि दोस्रो रन लिने क्रममा रनआउट भए। तर, पहिलो रन लिँदा सर्ट रन भएकाले युएईले कुनै रन पाएन र एक विकेट गुमायो। अब अन्तिम बलमा ३ रन चाहिने अवस्था आयो।
अन्तिम अर्थात छैटौं बलमा युएईका ब्याट्सम्यानले एक रन लिएर दोस्रो रनका लागि दौडिँदा सन्दीप जोराको उत्कृष्ट थ्रोमा विकेटकिपर आशिफ शेखको हातबाट जाहिद अली रनआउट भए।
यसरी अन्तिम तीन बलमा तीन विकेट झरेपछि नेपाली क्याम्पमा खुसीको लहर छायो र नेपालले १ रनको अविश्वसनीय जित दर्ता गर्यो। दीपेन्द्रले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने ३ खेलाडी रनआउट भए।
खेलाडीको प्रतिक्रिया : दीपेन्द्र छन् भने अरु केही चाहिँदैन
‘प्लेयर अफ द म्याच’ भएका दीपेन्द्रले अन्तिम ओभरका लागि आफूले आत्मविश्वासका साथ बल मागेको बताए।
‘दुई जना दायाँ हाते ब्याट्सम्यान क्रिजमा भएकाले मैले आत्मविश्वास देखाएर बल मागेँ र टिमले पनि मलाई विश्वास गर्यो’, उनले भने।
कप्तान रोहित पौडेलले नेपाल १५-२० रनले पछि परे पनि बलिङ र फिल्डिङमा गरेको पुनरागमन जितको आधार बनेको बताए।
उनले दीपेन्द्रको प्रशंसा गर्दै भने, ‘यदि तपाईंसँग दीपेन्द्र सिंह ऐरी छन् भने अरु केही चाहिँदैन। उनी रन नबनाए पनि बलिङ र फिल्डिङबाट योगदान गर्छन्। उनी एक फुल प्याकेज हुन्।’
यस्तै, अनुभवी बलर सोमपाल कामीले विश्वकप खेल्ने सपनाले आफूहरूलाई ऊर्जा दिने गरेको बताए।
‘म र गुल्शन रुममेट हौँ। हामी कोठामा विश्वकप ट्रफी लिएर एयरपोर्टमा उत्रिएको कल्पना गर्छौँ। त्यो सोच्दा शरीरमा काँडा उम्रिन्छ। यो सपनाले हामीलाई निकै ऊर्जा दिन्छ’, उनले भावुक हुँदै भने।
सुपर सिक्सको अर्को खेलमा ओमानले कतारलाई ३४ रनले पराजित गरेको छ। अब नेपालले आफ्नो अन्तिम सुपर सिक्स खेल भोलि कतारविरुद्ध खेल्नेछ।
असोज २६, २०८२ आइतबार २२:३४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।