जेनजी आन्दोलनपछि सुनसान छ लुम्बिनी, अघिल्लो वर्ष भन्दा आधा घटे भारतीय पर्यटक

बुटवल : जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमका कारण लुम्बिनी आउने भारतीय पर्यटकको संख्या एक्कासी घटेको छ। गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलन पश्चात् धेरै भारतीय पर्यटकहरूले भ्रमणका लागि बुकिङ गरिसकेका होटलहरू समेत धमाधम रद्द गरेका थिए।
गत सेप्टेम्बरमा लुम्बिनीमा जम्मा ७ हजार ४०९ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन्। गएको वर्षको सेप्टेम्बरमा लुम्बिनीमा १३ हजार ८१७ जना भारतीय पर्यटकहरूले भ्रमण गरेका थिए। त्यस्तै सन् २०२३ को सेप्टेम्बरमा १५ हजार ४ सय र सन् २०२२ को सेप्टेम्बरमा ११ हजारले लुम्बिनी भ्रमण गरेका थिए।
लुम्बिनी होटल संघका सल्लाहकार खिम श्रेष्ठले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमले लुम्बिनीमा पर्यटकको आगमन कम भएको बताए। ‘सिजनको समयमा बुकिङ भएका होटलहरू समेत पर्यटकले धमाधम रद्द गर्दा लुम्बिनीमा पर्यटकहरूको संख्यामा कमी आएको हो,’ उनले भने।
उनले आन्दोलनका कारण देशमा भएको क्षतिले पर्यटकहरूलाई नकारात्मक असर पुर्याउने गरेको बताए। लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले पनि कोभिडपछि राम्रो रहेको भारतीय पर्यटकको संख्या सेप्टेम्बरमा भने केही कमी आएको बताए। खास गरी लुम्बिनीमा ३ वर्षअघि जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण भारतीय पर्यटकको आगमन तीव्र रूपमा बढेको थियो।
९ महिनामा साढे ७ लाख पर्यटक
सन् २०२५ को ९ महिनामा गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा साढे ७ लाख पर्यटकले भ्रमण गरेका छन्। लुम्बिनी विकास कोषका अनुसार ९ महिनाको अवधिमा ७ लाख ४१ हजार ५७८ जना पर्यटकले लुम्बिनीको भ्रमण गरेका हुन्। यसरी भ्रमण गर्नेमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक छन्।
कोषका सूचना अधिकारी हरिध्वज राईका अनुसार सबैभन्दा बढी नेपालीले लुम्बिनी भ्रमण गरेका छन्। ४ लाख ८२ हजार ६२६ जनाले लुम्बिनी भ्रमण गरेका हुन्। त्यस्तै भारतीय १ लाख ८६ हजारले लुम्बिनी भ्रमण गरेको सूचना अधिकारी राईले जानकारी दिए।
तेस्रो मुलुकका ७२ हजार ५१० पर्यटक लुम्बिनी भ्रमण गरेका छन्। विकास कोषका अनुसार सन् २०२५ का नौ महिनामा भारतबाहेक ९८ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।
त्यस्तै श्रीलंकाका २२ हजार ५०१, थाइल्याण्डका १२ हजार ७७८, म्यानमारका ८ हजार ५०६, चिनियाँ ६ हजार ९५१, भियतनामका ४ हजार ९९६ र दक्षिण कोरियाका २ हजार ६८४ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।
सन् २०२४ मा ११ लाख ७२ हजार २८२ पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए। उक्त वर्ष नेपाली ७ लाख ५९ हजार ९९०, भारतीय ३ लाख ८८९ जना र तेस्रो मुलुकबाट ११० देशका १ लाख ११ हजार ४०३ जनाले लुम्बिनी भ्रमण गरेको कोषको तथ्यांक छ।
लुम्बिनी भ्रमणमा आएका चिनियाँ पर्यटक जियाओ यान इस्टिग्सले लुम्बिनी उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताए। उनले लुम्बिनीको शान्त वातावरणले आफूजस्ता धेरै चिनियाँलाई लोभ्याउने गरेको जनाए।
अक्टोबरबाट अन्तर्राष्ट्रिय उडान, पर्यटक बढ्ने आशा
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो अक्टोबर २६ देखि थाइ एयर एसियाले पुनः उडान गर्ने भएको छ। ६ महिना सम्म अन्तर्राष्ट्रिय उडान विहीन भएको देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर एसियाले उडान गर्ने भएको हो। भैरहवाबाट सातामा दुई उडान गर्ने गरी थाइ एयर एसियाले अनुमति लिइसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।
उनका अनुसार थाइ एयर एसियापछि विन्टर सेड्युलमा थप अन्य एअरलाइन्सहरू पनि आउने गरी छलफल भैरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत कार्य गरिएको गत अप्रिल महिनामा भैरहवाबाट चारवटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान भरेका थिए। एक महिनाको अवधिमा विमानस्थलबाट सातामा २० वटा सम्म नियमित उडानहरू सञ्चालनमा थिए। अन्तर्राष्ट्रिय उडान बन्द अघिका ५ महिनामा २ सय बढी उडानमार्फत ७ हजार बढी यात्रुले आवतजावत गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रेकर्डले देखाउँछ। विमानस्थलमा त्यतिबेला नियमित उडान बन्द छ भने केही चार्टर उडानहरू मात्रै भएका छन्।
६ महिनापछि फेरि अन्तर्राष्ट्रिय उडान हुने भएपछि निजि क्षेत्रका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। भैरहवाबाट उडान सुरु हुँदा निकै उत्साहित देखिएका स्थानीय पर्यटन व्यवसायीहरू उडान बन्द भएसँगै निराश भएका थिए।
पर्यटन व्यवसायी तथा होटल डेनोभो प्रा.लि.का सञ्चालक प्रविन पाठकले थाइ एयर एसियाले उडान सुरु गर्दा खुशी भए पनि नियमित उडान नहुँदासम्म पर्यटन क्षेत्र माथि उठ्न नसक्ने बताए। विमानस्थल लक्षित गरेर अर्बौँ लगानी भएका व्यवसायीहरू अहिले समस्यामा परेको भन्दै नियमित उडान भए पर्यटक बढ्ने र यसले पर्यटन व्यवसायीलाई चलायमान बनाउने बताए।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले तेस्रो मुलुकका पर्यटकलाई भित्र्याउनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनु आवश्यक रहेको बताए। ‘नियमित उडानका लागि सरकारी तवरबाट ठोस पहल हुनु जरुरी छ। अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने श्रम स्वीकृति लगायतका काम पनि यहीँबाट हुनु पर्छ,’ उनले भने।
२०७९ साल जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो। उद्घाटनसँगै नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाइ एयर एसिया र हिमालय एयरलाइन्सले भैरहवाबाट व्यवसायिक उडान सुचारू गरेका थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने विदेशी वायुसेवा कम्पनीलाई आकर्षित गर्न विशेष छुट सुविधाहरू समेत प्रदान गरेको छ।
भैरहवा तथा पोखरा दुवै विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट प्रदान गर्नुका साथै नेपाल एयरलाइन्सले प्रदान गर्ने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा पनि ७५ प्रतिशत छुटको व्यवस्था गरेको छ भने इन्धनमा समेत सय डलर छुट दिँदै आएको भए तापनि विदेशी एयरलाइन्सहरू काठमाडौँ बाहिरबाट उडान भर्न खासै रुचि देखाएका छैनन्।
असोज २६, २०८२ आइतबार १४:१२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।