तक्मेलाई डेब्यु फिल्म ‘मैझारो’को टेन्सन, साथ दिँदै राजेश पायल

तक्मेलाई डेब्यु फिल्म ‘मैझारो’को टेन्सन, साथ दिँदै राजेश पायल

काठमाडौंः कात्तिकको पहिलो हप्तामा तीनवटा फिल्म प्रदर्शनमा आउँदैछन्। तिहारको भाइटीकाका दिन अर्थात् कात्तिक ६ गते ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ रिलिज हुँदैछन्। त्यसको भोलिपल्ट, अर्थात् ७ गतेबाट भने विल्सन विक्रम राई (तक्मे) को डेब्यु निर्देशन फिल्म ‘मैझारो’ प्रदर्शन हुँदैछ।

दसैं र तिहारको भाइटीका सकेपछि हलमा आउन लागेको यो फिल्म तिहारको विदा परेको दिनमै रिलिज हुँदैछ। तर पनि, सो दिन दर्शक आफ्नो कार्यक्षेत्रतर्फ फर्किन तयारीमा हुने भएकाले हलमा भीड हुने/नहुने अन्योल छ।

त्यो दिन तीनवटा फिल्म प्रदर्शनमा आउने भएकाले दर्शक बाँडिने सम्भावना पनि धेरै छ। त्यसैले निर्देशक विल्सन विक्रम राई आफ्नो फिल्मको प्रचारप्रसारमा लागिरहेका छन्। उनी गत बिहीबारदेखि धरानबाट फिल्मको प्रचार अभियान सुरु गरेका छन्। त्यसपछि उनी शुक्रबार झापाको बिर्तामोड पुगे। गायक राजेश पायल राईसहितको टिम लिएर उनी निःशुल्क सांगीतिक कार्यक्रम चलाइरहेका छन्।

स्वयं चर्चित हास्य कलाकार तथा गायकसमेत रहेका तक्मेले गायक राजेश पायल राईको साथमा सांगीतिक प्रस्तुति दिँदै फिल्मको प्रचार गरिरहेका छन्। राजेश पायल राईले पनि निर्देशक तथा लेखकसमेत रहेका विल्सनलाई साथ दिइरहेका छन्। केही दिनअघि लेटाङ महोत्सवमा उनीहरूले गीतभन्दा बढी फिल्मको प्रचार गरेका थिए।

निर्माण पक्षले अब झापाको दमक, मोरङको बेलबारी र सुनसरीको इटहरीमा पनि सांगीतिक कार्यक्रम गर्ने तयारी गरेको छ। निर्देशक तथा निर्माता विल्सनलाई हलमा दर्शक नआउने डर छ। त्यसैले उनले सांगीतिक कार्यक्रमका अलावा पूर्वका शहर र गाउँमा गुड्ने हरेक इलेक्ट्रिक रिक्सा र अटोमा फिल्मका फ्लेक्स टाँसेर प्रचार गरिरहेका छन्।

हरेक कार्यक्रममा उनले फिल्मका मुख्य कलाकारहरूलाई उभ्याएर दर्शकमाझ हात हल्लाउन लगाइरहेका छन्।

यसअघि यो फिल्मको पोस्टर, दुईवटा गीत र टिजर रिलिज भइसकेका छन्। तर, त्यसको प्रभाव दर्शकमाझ खासै पुगेको देखिँदैन। सायद यही बुझेर उनले सांगीतिक कार्यक्रममार्फत फिल्मलाई दर्शकमाझ पुर्याउने रणनीति अपनाएका हुन्।

स्वयं हास्य कलाकार र गायक भएकाले उनले त्यसको फाइदा पनि लिइरहेका छन्। यति प्रचारप्रसार गर्दा पनि हलमा दर्शक आए भने त ठिकै हो, नआए भने विल्सनको पीडा मात्रै बढ्ने देखिन्छ। अब त्यो थाहा पाउन त कात्तिक ७ सम्म कुर्नै पर्ने हुन्छ।

असोज २६, २०८२ आइतबार १२:४६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।