रिलिजको संघारमा पुग्यो ‘जेरी अन टप’, छैन प्रचारप्रसार र चर्चा

काठमाडौंः फिल्म छायांकनमा जानुअघि निकै चर्चामा रहेको ‘जेरी अन टप’ प्रदर्शनको समय नजिकिँदै गर्दा भने गुमनामजस्तै बनेको छ।
पुरानो फिल्म ‘जेरी’सँग नाम मिलेकै कारण चर्चामा आएको यो फिल्म लामो समय लगाएर निर्माण गरिएको हो। तर, प्रदर्शनमा आउन ५ दिन बाँकी हुँदा पनि दर्शकले यसबारे जानकारी नै पाएका छैनन्।
आगामी शुक्रबार अर्थात् असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागिरहेको यो फिल्मले दर्शकमाझ कुनै माहोल बनाउन सकेको देखिँदैन। केही वर्षअघिसम्म अभिनेता अनमोल केसीको फिल्म रिलिज हुन लागेको समाचार आउँदा पनि हलदेखि गाउँघरसम्म चर्चा हुन्थ्यो। अझ दुई दशकअघि उनका बुबा, अभिनेता भुवन केसीको फिल्म भन्याे भने हलमा लामो लाइन लाग्थ्यो।
यसपटक ‘जेरी अन टप’मा बाउ-छोरा दुवै एकसाथ देखिएका छन्। तर, दर्शकमाझ त्यसको उत्साह छैन।
५० लाख पारिश्रमिक लिने अभिनेता अनमोल केसी र उनका बुबा भुवन केसीका दर्शक घटेका हुन् कि प्रचारप्रसार पुगेको छैन। यो कुरा उनीहरूलाई नै थाहा होला। तर, फिल्म प्रदर्शनमा आउँदैछ भन्ने कुरा दर्शकमाझ नपुगेको भने पक्कै हो।
सरोज न्यौपानेको निर्माण र अनन्या फिल्म्सको ब्यानरमा तयार भएको ‘जेरी अन टप’मा अनमोल र भुवनसँगै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, सुरक्षा पन्त र उषा खड्गीको पनि अभिनय छ। यति चर्चित कलाकार हुँदा पनि फिल्मको चर्चा नहुनु र प्रचार कमजोर हुनुले निर्माण पक्ष फिल्मप्रति ढुक्क भएको देखिन्छ।
फिल्म प्रदर्शनमा आउन अब ५ दिन मात्रै बाँकी हुँदा पनि प्रचार-प्रसार तीव्र भएको छैन। अब के नै गर्न सकिएला र? दर्शक हलमा आएनन् भने निर्माता डुब्ने चिन्ता मात्र बाँकी छ। आखिर, अहिलेको अवस्थामा स्टारडमले फिल्म चल्ने जमाना पनि कहाँ बाँकी छ र?
नपत्याएर हेर्न मन लागे ‘बलिदान’को प्रदर्शन हेरे हुन्छ। समिर भट्ट अभिनीत ‘१२ गाउँ’ले करिब २३ करोड कमाउँदा ‘बलिदान’ले लगानी उठाउनै धौधौ परेको छ।
अब ‘जेरी अन टप’का दर्शक हलसम्म पुग्छन् कि पुग्दैनन्, त्यो त फिल्म रिलिजपछि मात्रै थाहा हुनेछ।
असोज २६, २०८२ आइतबार १२:३४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।