इतिहासबाट सिक्दै एकताको मार्गमा अघि बढ्न जेनजी पुस्तालाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं : शिक्षामन्त्री अभियन्ता महावीर पुनले देशको राजनीतिक र सामाजिक परिवेशमा बढ्दै गएको गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यसले राष्ट्रिय हितमा ठूलो नोक्सान पुर्याउने चेतावनी दिएका छन्।
उनले सबै नेपालीहरूलाई, विशेषगरी हालको जेनजी पुस्तालाई इतिहासबाट सिक्दै एकताको मार्गमा अघि बढ्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसमा मन्त्री पुनले भनेका छन्, ‘राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन, झन् धेरै नोक्सान हुन्छ। अहिलेको परिप्रेक्ष्यमा देश विकास र सार्वभौम सत्ताको रक्षाका लागि गुटबन्दी नगरौँ भन्ने मेरो अनुरोध छ।’
उनले नेपाली इतिहासकै विभिन्न कालखण्डलाई स्मरण गर्दै गुटबन्दीले हरेक पटक देशलाई कमजोर बनाएको र विदेशी हस्तक्षेप तथा अधिनायकवादको बाटो खोलेको टिप्पणी गरेका छन्।
शाहकालमा सुरु भएको गुटबन्दी र खुट्टा तानातानले अन्ततः राणातन्त्र जन्माएको, राणाकालमा पनि आपसी प्रतिद्वन्द्विताका कारण शासन ढलेको र २००७ सालपछिको प्रजातान्त्रिक अभ्यासमा दलहरूबीचको अविश्वास र खिचातानीकै कारण लोकतन्त्र अस्थिर बनेको उनले उल्लेख गरेका छन्।
पञ्चायती कालदेखि हालको लोकतान्त्रिक व्यवस्थासम्मको राजनीतिक यात्रा पनि गुटबन्दी र व्यक्तिगत स्वार्थको बलि बनेको उनको भनाइ छ। पुनका अनुसार राजनीतिक दलहरूबीचको कलह र नेताहरूको आपसी अविश्वासकै कारण देश विकासभन्दा बढी सत्ताको खेलमा अल्झिएको छ, जसले जनता निराश र आक्रोशित भएका छन्। यही कारण जेनजी आन्दोलन विस्फोटको रूपमा फूटिएको उनले बताएका छन्।
मन्त्री पुनले जेनजी पुस्तालाई चेतावनी दिंदै भनेका छन्, ‘तिमीहरू देश परिवर्तन गर्न चाहन्छौ, भ्रष्टाचार अन्त्य गर्न चाहन्छौ, सुशासन ल्याउन चाहन्छौ, तर यो सपना त्यतिबेला मात्रै पूरा हुन्छ जब तिमीहरूबीच एकता हुन्छ। गुटबन्दी र खुट्टा तानातान सुरु भयो भने विगतजस्तै असफलता मात्र हात लाग्नेछ।’
उनले आफ्नो सन्देशको अन्त्यमा मातृभूमीको अस्तित्व र राष्ट्रिय स्वाभिमानका लागि सबै नेपालीहरूलाई एकजुट हुन आग्रह गर्दै लेखेका छन्, ‘नेपालको इतिहासले सिकाएको छ। गुटबन्दीले कहिल्यै देशलाई फाइदा दिएको छैन। अब त्यो गल्ती दोहोर्याउने समय छैन, अबको बाटो एकता र सहकार्यको हुनुपर्छ।’
असोज २६, २०८२ आइतबार ११:१८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।