विवेकशील साझा पार्टीद्वारा जेनजी पुस्ता र वैकल्पिक शक्तिसँग बृहत्तर एकताको आह्वान

विवेकशील साझा पार्टीद्वारा जेनजी पुस्ता र वैकल्पिक शक्तिसँग बृहत्तर एकताको आह्वान

काठमाडौं : विवेकशील साझा पार्टीले नेपालमा वैकल्पिक राजनीतिक शक्ति र जेनजी अभियानहरूसँग बृहत्तर एकताको आह्वान गरेको छ।

पार्टीका प्रवक्ता आशुतोष प्रधानद्वारा जारी विज्ञप्तिमा भदौमा भएको जेनजी विद्रोहप्रति ऐक्यबद्धता जनाउँदै सहादतको जगमा बनेको नागरिक सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ। पार्टीले भ्रष्टाचार र कुशासनविरुद्धको लडाइँलाई अझ सशक्त बनाउँदै नयाँ राजनीतिक संस्कार र वैचारिक स्पष्टताका साथ अघि बढ्ने जनाएको छ।

विवेकशील साझा पार्टीले आफ्नो एक दशकभन्दा लामो राजनीतिक यात्रालाई जनताको हितका लागि पुनः परिभाषित गर्दै पार्टीको नाम, चुनाव चिन्ह र संरचना समेत परिवर्तन गर्न खुला रहेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा वैकल्पिक राजनीतिको जग खनेर राजनीतिक भाष्य परिवर्तन गर्न सफल विवेकशील साझा पार्टी अहिलेको विषम परिस्थितिमा वैकल्पिक शक्ति, जेनजी पुस्ता, परिवर्तनकारी अभियान र समूहहरूको मोर्चाबन्दीका लागि सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दछ।’ 

आगामी आम निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीले सबै नयाँ राजनीतिक दल, जेनजी आन्दोलनका अभियन्ता र स्वतन्त्र अभियानहरूसँग सहकार्य, कार्यगत एकता र बृहत्तर नयाँ शक्ति निर्माणको लागि छलफलमा सहभागी हुन आग्रह गरेको छ।

प्रवक्ता प्रधानले जारी विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनका युवामाथि गरेको ‘निर्घात दमन र नरसंहारप्रति’ गहिरो दुःख व्यक्त गर्दै सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

‘हामी भ्रष्टाचार र कुशासनमुक्त, समतामूलक समृद्ध नेपालको निर्माणका लागि राष्ट्रिय निर्वाचनमा होमिने प्रतिज्ञा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। 

असोज २६, २०८२ आइतबार १०:५८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।