विपिन जीवित रहेको विश्वास, अवस्था अझै अज्ञात

विपिन जीवित रहेको विश्वास, अवस्था अझै अज्ञात

काठमाडौं : गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको नयाँ सूची सार्वजनिक भएको छ।

 हमास र इजरायलबीचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम पनि समेटिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो।

यसअघि सिएनएनले प्रकाशित गरेको सूचीमा उनको अवस्थालाई ‘अज्ञात’ भनेर उल्लेख गरिएको थियो। हमासको नियन्त्रणमा रहेका २५१ जनामध्ये विपिनसहित ४८ बन्धक ल्याउन बाँकी रहेको अवस्थामा २० जना जीवित रहेको अनुमान छ । २६ जनाको मृत्यु भइसकेको र दुई जना विपिन जोशी र तमिर निमरोडीको अवस्था अज्ञात रहेको सूचना सार्वजनिक भएको थियो। 

तर द वासिङटन पोस्ट, टाइम्स अफ इजरायल लगायतका सञ्चारमाध्यममा भने विपिन जोशी जीवित रहेको उल्लेख गरिएको छ।

वासिङटन पोस्टमा विपिनबारे लेखिएको समाचार

हमासको नियन्त्रणमा रहेका केही बन्धकहरू अझै जीवित रहेको विश्वास गरिएपनि सबैको अवस्थाबारे स्पष्टरुपमा खुल्न नसकेको इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरिएको छ।

इजिप्टमा इजरायल र हमासबीच भएको युद्धविरामको सहमतिअनुसार सोमबार दिउँसोसम्म हमासको कब्जामा रहेका ४८ जनालाई रिहा गरिसक्नुपर्नेछ।

असोज २६, २०८२ आइतबार १०:१७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।