हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या बढ्यो

हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या बढ्यो

हुम्ला : हुम्लाको उत्तरी नाका हिल्सा हुँदै मानसरोवर-कैलाश दर्शनका लागि जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा औपचारिक रूपमा सकिएको छ। चिसो बढ्दै गएपछि तीर्थयात्री नआएर याम समाप्त भएको सिमकोटकी होटल व्यवसायी मिम लामाले जानकारी दिइन्।

कोरोनापछि हिल्सा हुँदै मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्रीको संख्या उल्लेखनीय रूपमा बढेको थियो। यस सिजनमा मात्रै हजारौं तीर्थयात्री हुम्ला हुँदै चीनको मानसरोवर पुगेका छन्।

लामाका अनुसार सिमकोट र हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेका छन्। कतिपय होटलले रु १० लाखभन्दा बढी कमाएका छन्। अन्य देशका केही पर्यटक हुम्लाका विभिन्न स्थानमा पुगिरहेका भए पनि भारतीय तीर्थयात्रीको मुख्य सिजन भने अब सकिएको बताइन्छ।

छ हजारभन्दा बढी विदेशी हुम्ला भित्रिए

गत वैशाख १८ गते चीनले हिल्सानाका खोलेपछि हालसम्म ६ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला पुगेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार तीमध्ये करिब ५ हजार ९५७ जना भारतीय तीर्थयात्री हुन्, जसले हिल्सा हुँदै मानसरोवर-कैलाश दर्शन गरेका छन्।

अन्य देशका करिब ४५० जना विदेशी पनि हुम्ला पुगेका थिए। पोखरेलका अनुसार ‘जेठको दोस्रो हप्ताबाट असोजको पहिलो सातासम्म दैनिक विदेशी यात्रु सिमकोट विमानस्थलमा ओइरिन्थे।’ 

हुम्लाको बाटो छोटो र सुविधाजनक भएकाले मानसरोवर यात्राको लागि यो मार्ग बढी लोकप्रिय बनेको छ।

स्थानीय तहले उठायो करिब ७२ लाख राजस्व

सिमकोट र नाम्खा गाउँपालिकाले तीर्थयात्रीबाट शुल्क उठाउँदै आएका छन्। भारतीय तीर्थयात्रीबाट प्रतिव्यक्ति रु १,१०० र अन्य देशका पर्यटकबाट रु १,५०० असुल्ने गरिएको छ।

यस सिजनमा भारतीय तीर्थयात्रीबाट करिब रु ६५ लाख ५२ हजार र अन्य देशका पर्यटकबाट रु ६ लाख ७५ हजार गरी जम्मा करिब रु ७२ लाख राजस्व संकलन भएको छ।

सुनसान सिमकोट विमानस्थल

तीर्थयात्रीको आवतजावत चाप बढ्दा केही महिना निकै व्यस्त देखिएको सिमकोट विमानस्थल अहिले भने सुनसान बनेको छ। जेठदेखि भदौसम्म बिहानदेखि बेलुका पाँच बजेसम्म उडान र यात्रुको भीड रहने विमानस्थल असोजको दोस्रो हप्तादेखि सुनसानजस्तै देखिन थालेको हो।

सिमकोट गाउँपालिकाका कर्मचारी दीपेन्द्र भण्डारीका अनुसार, ‘कोरोनापछि पहिलोपटक हुम्ला हुँदै यति ठूलो संख्यामा तीर्थयात्री आएका थिए । अब तापक्रम घट्दै जाँदा सीजन नै सकिएको छ।’ 

हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको यात्राले यस वर्ष हुम्लाको पर्यटन र व्यवसाय दुवैलाई नयाँ उत्साह दिएको स्थानीयले बताएका छन्।

असोज २६, २०८२ आइतबार ०९:१३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।