अझै खुलेन मेची राजमार्ग

अझै खुलेन मेची राजमार्ग

इलाम : गत असोज १८ गतेको भीषण वर्षापछि गएको ठूलो पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।

सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि निरन्तर सडक खुलाउने प्रयास गरिरहेका छन् । तर ठूलो पहिरो र डाँडा भासिएको कारण काममा कठिनाइ आएको सडक डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिए। “सडक खोल्न तीनवटा एस्काभेटर परिचालन गरेका छौँ,” उनले भने, “तर सिङ्गो डाँडा नै भासिएकाले तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था छैन ।”

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार सडक मर्मत कार्य भइरहेकाले सुरक्षित रूपमा आवागमन गर्न सकिने अवस्था नहुँदासम्म सडक सञ्चालनमा रोक लगाइएको छ। “सुरक्षा जोखिम उच्च भएकाले अस्थायी रूपमा सडक बन्द गरिएको हो,” उनले भने ।

राजमार्गको राजदुवाली र इलाम–नेपालटार खण्डको मिलगोलाई क्षेत्रमा ठूलो क्षति पुगेको छ । मिलगोलाईमा अवरोध हटाइएपछि पाँचथर र ताप्लेजुङतर्फ सवारीसाधन राजदुवाली पहिरोमाथिसम्म चल्न थालेका छन् । झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात सञ्चालनमा भए पनि राजदुवाली पहिरोका कारण अझै पूर्ण रूपमा सडक खुलेको छैन ।

राजदुवाली खण्ड बन्द रहँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू सर्वाधिक प्रभावित भएका छन् । यात्रुहरूलाई अहिले करिब डेढ किलोमिटर दूरी पैदलै हिँड्नुपरेको छ । बिरामी, सुत्केरी र ज्येष्ठ नागरिकलाई भने सुरक्षाकर्मीहरूले स्टेचरमा बोक्दै पहिरोमाथि र माईखोला पार गराइरहेका छन् ।

वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) पनि अबरुद्ध भएको छ । पुवाखोला र तिल्केनी–सिमलगोलाई सडकखण्डअन्तर्गतको जोगमाईखोलाको बेलीब्रिज बाढीले बगाएपछि इलामबाट झापा झर्ने वैकल्पिक बाटोसमेत बन्द भएको हो ।

बाढी–पहिरोका कारण जिल्लाका धेरै स्थानीय तह सदरमुकामसँग सडक सञ्जालबाट विच्छेद भएका छन् । १० स्थानीय तहमध्ये पाँच स्थानीय तह अहिले पूर्ण रूपमा सडक सम्पर्कविहीन छन् । राजदुवाली सडकखण्ड अवरुद्ध भएकाले सूर्योदय नगरपालिका, बेलासे सडकखण्डको पुल भाँचिँदा माई नगरपालिका, देउमाई पुल भत्किँदा माङसेबुङ गाउँपालिका र जोगमाई खोलाको बेलीब्रिज बगाउँदा माईजोगमाई गाउँपालिका सडक सञ्जालबाट अलग भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार इलाममा हालसम्म १९ पक्की पुल, दुई बेलीब्रिज, ११ कल्भर्ट र तीन झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । ३१ सडकमा क्षति पुगेको छ । बाढीपहिरोका कारण ३९ जनाको मृत्यु, २६ जना घाइते र एक जना बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार दुई सय ७६ परिवार विस्थापित भएका छन् भने एक सय ५१ घर पूर्ण र तीन सय २७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

असोज २६, २०८२ आइतबार ०८:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।