पालुङटारमा गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

पालुङटारमा गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा : पालुङटार नगरपालिकाका गर्भवती महिलाहरू विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्की नपाएर समस्यामा परेका छन्। नगरपालिकाले समयमै औषधि खरिद नगरेपछि पालिकाभरका स्वास्थ्यचौकीमा ती औषधि अभाव भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

ठाँटीपोखरी बजारस्थित वडा नं ५ को स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी रमा थापा मगरका अनुसार दुई महिनादेखि गर्भवती महिलालाई क्याल्सियम र आइरन चक्की वितरण ठप्प छ। “अब त आउँछन् भनेर पर्खेका थियौँ, तर कहिले आउँछन् थाहा छैन,” उनले भनिन्, “औषधि लिन आउने गर्भवतीलाई अहिले बजारमै गएर किनेर खान सुझाव दिनुपरेको छ।”

यस्तै अवस्था नगरपालिकाका अन्य वडाहरूमा पनि देखिएको छ। वडा नं १० की स्वास्थ्यचौकी प्रमुख अनिशा जोशीका अनुसार डेढ महिनादेखि औषधि सकिएको छ। “हामीसँग पनि स्टक छैन,” उनले भनिन्, “गर्भवतीलाई ‘आफैँ किनेर खानुस्’ भन्नु बाहेक अरू विकल्प छैन। सित्तैमा पाइने औषधिका लागि पैसा खर्च गर्नुपर्दा धेरैले गुनासो गर्नुभएको छ।”

उनका अनुसार कतिपय गर्भवतीले स्वास्थ्यचौकीले नै औषधि किनेर दिन आग्रह गर्ने गरेका छन्। “कतिपय औषधि पसलमा पनि एकैपटक धेरै आइरन चक्की बिक्री गर्न नदिने हुँदा गर्भवती रिसाएर हामीमाथि दबाब आउँछ,” जोशीले भनिन्। उनका अनुसार मिरकोट स्वास्थ्यचौकीमा मात्र करिब २५ गर्भवती नियमित रूपमा आइरन र क्याल्सियम सेवन गर्दै आएका थिए।

वडा नं ९ को सेरा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी गङ्गादत्त सेढाईंले पनि दुई महिनादेखि आइरन र क्याल्सियमको अभाव रहेको बताए।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माका अनुसार आइरन र क्याल्सियमजस्ता औषधि खरिदको जिम्मेवारी स्थानीय तहकै हो। “सरकारले निःशुल्क वितरण गर्ने ९८ प्रकारका औषधिमध्ये कतिपय सङ्घ, कतिपय प्रदेश र कतिपय स्थानीय तहले आफैं किन्नुपर्ने व्यवस्था छ,” उनले भने, “क्याल्सियम र आइरन चक्की स्थानीय तहले सङ्घीय बजेटबाट खरिद गर्नुपर्ने औषधिमा पर्छ।”

शर्माले भने, “अघिल्ला वर्षहरूमा यी औषधि सङ्घबाटै पठाइँदै आएका थिए, तर तीन–चार महिनाअघि सङ्घले अब स्थानीय तहले आफैं व्यवस्थापन गर्नुपर्ने भनेर जानकारी गराएको छ । त्यसपछि स्थानीय तहले नै आपूर्ति मिलाउनु पर्ने हुन्छ। प्रदेश कार्यालयले भने प्रदेश आपूर्ति केन्द्रबाट आएको औषधि वितरण गर्ने मात्र काम गर्छ।”

असोज २६, २०८२ आइतबार ०७:०८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।