जमिन भासिएपछि सुरक्षित आश्रयको खोजीमा छन् हायु परिवार

जमिन भासिएपछि सुरक्षित आश्रयको खोजीमा छन् हायु परिवार

सिन्धुली : कमलामाई नगरपालिका-१ सिम्लेमा जमिन भासिएपछि हायु समुदायको बस्ती जोखिमपूर्ण बनेको छ। शुक्रबार जिल्ला सुरक्षा समितिको टोली स्थलगत निरीक्षणका लागि पुग्दा स्थानीयमा उत्साहभन्दा बढी निराशा देखियो। प्रभावित परिवारहरूले सहयोगको याचना त गरे, तर तत्काल केही हुने आशा भने कमै छ।

यो पहिलो पटक होइन। अघिल्लो वर्ष पनि सरकारी टोली त्यहीँ पुगेको थियो। तर जोखिम घटाउने पहल नहुँदा यस वर्ष समस्या झन् गम्भीर बनेको स्थानीयको गुनासो छ।

“जमिन चिराचिरा परेको छ। बस्ती नै सरेर ढल्किएको छ। कहिले माटो खस्छ भनेर डर लाग्छ। पानी पर्न थालेपछि मुटु नै काम्न थाल्छ,” प्रभावित पूर्णिमाया हायुले भनिन्, “सरकारका मान्छे हेर्न त आउँछन्, तर हाम्रो दुःख हटाउने काम कहिल्यै गर्दैनन्।”

पूर्णिमायाजस्तै १५ घरधुरीका हायु परिवार पनि त्रासमै छन्। लगातारको वर्षा र जमिन भासिँदा घर, बारी र खेत सबै फाट्न थालेको छ। “घर आधा सरेर तल खस्यो। धानखेत पनि हराउँदै छ। अब कहाँ जाने ? सबै सम्पत्ति यहीँ थियो,” स्थानीय फूलकुमारी हायुले दुखेसो पोखिन्।

वडा नं १ का अध्यक्ष नरेश गोलेका अनुसार सिम्लेको यो हायु बस्ती एक वर्षदेखि उच्च जोखिममा छ । सुरक्षित बसोबासको ठाउँ नपाउँदा परिवारहरू अझै त्यहीँ बस्न बाध्य छन् । “अघिल्लो वर्षदेखि नै २०० जना बढी प्रभावित छन् । असोज १७ देखि २१ सम्मको वर्षापछि जमिन फेरि भासियो। अब बस्ती सार्नैपर्ने अवस्था आएको छ,” उनले भने।

गोलेका अनुसार जोखिममा परेका घरहरूको सूची नगरपालिका र जिल्ला प्रशासनलाई अघिल्लो वर्षमै पठाइएको थियो । “निरीक्षण त भयो, तर त्यसपछि केही भएन । अब दीर्घकालीन समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक छ,” उनले थपे।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पनि सिम्लेको अवस्थाबारे प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाउने र तत्कालै विपद् व्यवस्थापन समितिको बैठक बोलाउने तयारी भएको बताए। “हायु परिवार त्रासमा छन्। हामीले उनीहरूलाई भेटेर संवाद गरेका छौँ । अब आवश्यक समन्वयमार्फत राहत र पुनर्वासको प्रक्रिया अघि बढाइनेछ,” उनले भने।

नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले पनि समस्याको स्थायी समाधानका लागि नगरपालिकाले पहल गरिरहेको जनाए ।

प्रकृतिलाई पूजक मान्ने हायु समुदाय अहिले अस्तित्वकै संकटमा छ। वर्षौँदेखि बसोबास गर्दै आएको थातथलो नै भासिँदै जाँदा उनीहरू सुरक्षित बासस्थानको खोजीमा छन्। स्थानीयवासीले लोपोन्मुख यो समुदायको जीवन र संस्कृतिसहित बस्ती जोगाउन सरकारले छिटो पुनर्वास र दीर्घकालीन व्यवस्थापन गर्न आग्रह गरेका छन्।

असोज २५, २०८२ शनिबार २२:०३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।